मधेशमा टिपर आतंक कहिले सम्म ?

323 Shares

नेपालको मधेश प्रदेशलाई हेर्ने दृष्टिकोण नै दुई भागमा विभाजित छ।एकातिर,यसलाई अन्नको भण्डार र औद्योगिक गतिविधिको केन्द्रका रूपमा चित्रण गरिन्छ।अर्काेतिर,यही प्रदेश सडक सुरक्षाको दृष्टिले एउटा“ओपन जिम”मा परिणत भएको छ।“टिपर आतंक”भन्ने शब्दले मधेशका सर्वसाधारणको मनमा त्रास,आक्रोश र असहायताको सघन भावना जगाउन सक्छ। ती टिपरहरू, नदीजन्य तथा खानीजन्य पदार्थ ढुवानी गर्ने नाममा राजमार्ग र सहरका सडकमा तिब्रगतिमा हुईकिन्छन्।जुन आज “सर्वसाधारण मृत्युको व्यापारी”बनेका छन्।टिपर आतंक कहिलेसम्म रहने ? र यसको नियन्त्रणको जिम्मेवारी बोकेका सरोकारवाला निकायहरू किन मौन छन् ?भन्ने प्रश्न आम सर्वसाधारण नागरिकहरुमा उब्जिएको छ ।
जब हामी ‘आतंक’ शब्द प्रयोग गर्छौं,यो कुनै अतिशयोक्ति होइन।पछिल्ला केही वर्षहरूमा मधेश प्रदेशमा सवारी दुर्घटनाको तथ्यांकले एउटा भयावह चित्र प्रस्तुत गरेको छ।प्रत्येक महिना,कतिपय अवस्थामा त प्रत्येक साता,सडकमा कालो फित्ता बाँधिन्छ।कतिपयले घरको मुख्य कमाउने गुमाउँछन्,कतिपयको सपनाको संसार नै ध्वस्त हुन्छ।तर,यी घटनाको पुनरावृत्ति रोक्न सक्ने निकायहरू भने प्रायः“पछि हट्ने”कलामा निपुण देखिन्छन्।उनीहरूको कार्यशैलीमा देखिने अल्पकालीन सक्रियता र दीर्घकालीन बेवास्ताको संयोजन नै यस समस्या जटिल बन्नुको मूल कारण हो।
नेपाल प्रहरी : “अपरेसन”को नाटक
नेपाल प्रहरीलाई कानुनी व्यवस्थाले “जनताको सेवक”को संज्ञा दिएको छ।तर,टिपर आतंकको सन्दर्भमा उनीहरूको भूमिका बहसको विषय बन्न पुगेको छ।समय–समयमा प्रहरी प्रशासनले “अपरेसन”नामक अभियान सञ्चालन गर्दछ।यी अभियानमा केही टिपर जफत गरिन्छन्, चालकहरू विरुद्ध कारबाही गरिन्छ र प्रेस विज्ञप्ति जारी गरी जनतालाई सुरक्षाको आश्वासन दिइन्छ।तर,यी अभियानहरूको आयु केही दिन मात्र हुन्छ।अभियान सकिए लगत्तै ती टिपरहरू पुनःसडकमा झनै उग्र रुपमा देखिन्छन्।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिने नाममा तिनीहरूसँग “सम्झौता”गर्ने कला राम्रै सिकेको छ।अभियानको समयमा देखाइने “कडाइ”र त्यसपछिको “उदासीनता”बीचको यो द्वन्द्वले प्रहरी संगठनप्रति जनताको विश्वास गुमाउँदै गएको छ।प्रहरी चौकीहरू टिपरका मालिकहरूका लागि “पार्किङ स्थल”भन्दा बढी केही नभएको भन्ने पनि सुनिन्छ।आखिर,जो नियम कार्यान्वयन गर्ने निकाय हो,त्यही निकायले व्यवस्थित रुपमा नियमको उल्लंघन हुन दिनुको अर्थ के हो ? प्रहरीको यो दोहोरो भूमिका नै टिपर आतंक लामो समयसम्म कायम रहनुको प्रमुख कारण हो।
सडकमा यातायातको नियमन गर्ने,चालक अनुमतिपत्र जाँच गर्ने,सवारी साधनको अवस्था मूल्यांकन गर्ने र ओभरलोड तथा तीव्र गतिमा चल्ने सवारी साधनलाई रोक्ने ट्राफिक प्रहरीको जिम्मेवारी स्पष्ट छ।तर,मधेशका सडकमा ट्राफिक प्रहरीको भूमिका कुनै“बाध्यात्मक व्यवस्था” भन्दा “जरिवाना असुलीको संयन्त्र”मा सीमित देखिन्छ। टिपरहरू जब ओभरलोड हुँदै, बिना ब्रेक लाइट,बिना साइड लाईट,राति उच्च गतिमा सहरको बीचबाट गुड्छन्,ट्राफिक प्रहरीको उपस्थिति प्रायः“अनुपस्थिति”देखिन्छ।लाग्छ की ट्राफिक प्रहरी सिटी फुक्छन् तर आँखा देख्दैनन् ।
ट्राफिक प्रहरीलाई टिपरको गति र तौलभन्दा टिपरको “चाबी”र “दस्तावेज”का कारण आउने कमिसन बढी महत्वपूर्ण लाग्दो रहेछ।अर्थात्,नियमित चेकिङका नाममा ट्राफिक प्रहरीले असुल्ने “गैरकानुनी” रकम नै यहाँको स्थायी उद्योग बनिसकेको छ।ठूला टिपर व्यवसायीहरूसँग ट्राफिक प्रहरीका तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीहरुको“सम्बन्ध”रहेको सर्वसाधारणको आरोप छ।चालकहरू सजिलै भन्छन्,“हामीले “महिनावारी”तिरेका छौँ, ट्राफिकले हामीलाई केही गर्न सक्दैन।
जब ट्राफिक प्रहरीले नै सडक सुरक्षाको पालना गर्नुको सट्टा“आम्दानीको स्रोत”का रूपमा टिपरहरूलाई हेर्न थाल्छ,तब त्यसले सिङ्गो व्यवस्थाप्रति प्रश्न खडा गर्छ। ओभरलोडका कारण सडक मर्मतको बजेट बारम्बार बढाउनुपर्ने अवस्था,सडकको आयु घट्नु र सर्वाधिक दुर्घटनाका कारण आम सर्वाधरणको ज्यान गुमाउने घटनाको शृङ्खला यी सबैको जडमा ट्राफिक प्रहरीको “अनुशासनहीनता र गैर जिम्म्ेवारीपना” नै हो ।
जिल्ला समन्वय समिति “समन्वय”को नाममा कमिसनमा “निन्द्रा”मा
प्रशासनिक संरचनामा जिल्ला समन्वय समितिलाई स्थानीय तह र प्रदेश सरकारबीच पुलका रूपमा हेरिन्छ।स्थानीय सडक,गाउँ–गाउँ जोड्ने पूर्वाधार,यातायात व्यवस्थापन तथा अनुमगनमा जिल्ला समन्वय समितिको महत्वपूर्ण भूमिका हुन्छ।तर,टिपर आतंक तथा अवैध नदीजन्य पदार्थको दोहनको सन्दर्भमा जिल्ला समन्वय समितिको भूमिका एकदमै “न्यून”देखिन्छ।सडक सुरक्षाका विषयमा जिल्ला सुरक्षा समितिका बैठकहरूमा जिल्ला समन्वय समितिका पदाधिकारीहरू उपस्थित हुन्छन्,तर ती बैठकहरूको निष्कर्ष “सुझाव”भन्दा माथि उठ्न सकेको देखिँदैन।
जिल्ला समन्वय समितिको कार्यालय “समन्वय”नभएर “सुन र मन मनै राख”को अड्डा बनिसकेको छ।”अर्थात्,जहाँ मौखिक रूपमा सबै कुराको समन्वय गर्ने कुरा गरिन्छ,तर व्यवहारमा कुनै ठोस कार्यान्वयन हुँदैन।जिल्ला समन्वय समितिले स्थानीय सरकार,प्रदेश सरकार र प्रहरी प्रशासनबीचको “समन्वय”को नाममा बैठक राख्नु,प्रेस विज्ञप्ति जारी गर्नु र त्यसलाई नै “पहल” को रूपमा प्रस्तुत गर्नु मात्र गर्दछ।नदी तथा खानीजन्य उद्योग र टिपरका मालिकहरू प्रायःस्थानीय प्रभावशाली व्यक्ति वा पूर्व जनप्रतिनिधि हुने भएकाले जिल्ला समन्वय समितिले उनीहरू विरुद्ध कडा कदम चाल्न “सक्दैन”वा “चाहँदैन”भन्ने जनमानसमा गहिरो बुझाइ छ।
जब जिल्लाको सर्वाेच्च समन्वय निकाय नै समस्याको समाधान खोज्नुको सट्टा समस्यासँग “समायोजन”गर्न बाध्य हुन्छ,तब सामान्य नागरिकको बाँच्ने अधिकार नै संकटमा पर्छ।यसरी जिल्ला समन्वय समिति पनि टिपर आतंकको नियन्त्रणमा“मौन साझेदार”का रूपमा स्थापित भएको छ।हरेक जिल्ला समन्य समितिहरुले वार्षिक रुपमा दहत्तर बहत्तरसंकलन तथा व्यवस्थापनको अवस्थाको समग्र मुल्यांकन सम्बन्धी अध्ययन प्रतिवेदन समेत कतिपय जिल्ला समन्वय समितिहरुले तयार नपार्ने गरेका पाइएको छ ।
टिपर व्यवसायी र प्रशासनबीचको अन्तरसम्बन्ध
मधेशको टिपर आतंकको जटिलताको एउटा पाटो यससँग जोडिएको व्यवसायिक समूह र प्रशासनिक निकायबीचको अनौपचारिक गठबन्धन हो।ठूला टिपर व्यवसायीहरू प्रायः राजनीतिक दलका नेताहरू,स्थानीय जनप्रतिनिधिहरू र कतिपय अवस्थामा सुरक्षा निकायका पूर्व अधिकृतहरू छन्।उनीहरूको लबिङ्ग र दबाबले नियम कार्यान्वयन गर्ने निकायहरू “चुप” बस्न बाध्य हुन्छन्।जब टिपर व्यवसायी स्वयं सरोकारवाला निकाय तथा नियामक निकायका “नाइके”हुन्छन् तब त्यहाँ कसले कसलाई नियमन गर्ने ?
यसरी हेर्दा,टिपर आतंक मात्र सडक सुरक्षाको समस्या नभएर भ्रष्टाचार,राजनीतिक संरक्षण र प्रशासनिक विफलताको त्रिवेणी संगम बनेको छ।नेपाल प्रहरी,ट्राफिक प्रहरी,जिल्ला समन्वय समिति र सम्बन्धीत स्थानीय तहहरु“आफ्नो घरको आगो आफैं निभाउने”मानसिकतामा चिप्लिन्छन्।जनताको ज्यानको रक्षा गर्नुको सट्टा आफ्नो “सिट र अर्थाेपार्जन”को सुरक्षामा उनीहरू बढी केन्द्रित देखिन्छन्।
सरकारी निकायहरूको “मौनता”को अर्को पाटो
प्रशासनिक निकायहरूको यो मौनता सधैं उत्तिकै हानिकारक हुन्छ।“टिपर आतंक”को विषयलाई प्रदेश सरकारले प्राथमिकताको सूचीमा राखेको देखिँदैन।यो समस्या जति सानो तहमा रहन्छ,त्यति नै यसले राजनीतिक दलहरूलाई “सुरक्षित”राख्छ।जबसम्म कुनै ठूलो दुर्घटना हुँदैन तब सम्म प्रहरी र प्रशासन “सुतेको”अवस्थामा हुन्छ।दुर्घटना भएपछि केही दिनको हलचल, पीडित परिवारलाई “सान्त्वना”रकम र फेरि पुरानै अवस्था यो चक्र नै सरोकरावाला निकायहरूको “मौनता”को सबैभन्दा ठूलो प्रमाण हो।
यसका अलावा संविधानको अनुसूचि ८ अनुसार स्थानीय तहलाई खानी तथा खनिज पदार्थको संरक्षणको अधिकार छ।यसका साथै तोकिएको परिमाणमा ढुङ्गा,गिट्टी र बालुवा उत्खन्न तथा बिक्रि वितरण गर्न सक्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि छ।यससंगै ढुङ्गा,गिट्टी र बालुवा उत्खन्न तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७,खनिज पदार्थ उत्खनन् ऐन २०४२,खानी तथा खनिज पदार्थ नियमावली २०५६,वातावरण संरक्षण ऐन २०७६ तथा सम्बन्धीत  प्रदेश सरकारले निर्माण गरेका नदीजन्य पदार्थ(संकलन र उपयोग) कार्यविधि २०७५ मा पनि उल्लेख भएका अधिकारहरु कार्यन्वयन गर्ने निकाय सम्बन्धीत स्थानीय तहहरु र जिल्ला समन्वय समिति नै हुन ।
तर व्यवहारमा,अनियमित उत्खनन र अव्यवस्थित ढुवानीले मधेशका सडकहरूलाई जर्जर बनाएको छ।टिपर आतंकको जरो नै यही अव्यवस्था हो।तर सरोकारवालाहरू कागजमा योजना बनाउने र बैठक बस्ने बाहेक के गर्छन् ? जनताको ज्यान भन्दा बढी महत्वपूर्ण केही अरु छ कि ?भन्ने प्रश्न सर्वत्र उठ्न थालेको छ ।
वास्तविकता के हो भने, यी चार वटै निकाय(नेपाल प्रहरी, ट्राफिक प्रहरी,जिल्ला समन्वय समिति र सम्बन्धीत स्थानी तहहरु सबै  जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देदिएको छ। जिम्मेवारी एक अर्कामाथि थोपर्ने र अन्ततःकसैले पनि जवाफदेहिता नलिने अवस्था सिर्जना भएको छ। यस्तो अवस्थामा टिपर आतंक नियन्त्रणमा आउने अपेक्षा गर्नु आफैंमा भ्रम मात्र हो।जसको पीडित पक्ष भनेको सर्वसाधारण नागरिक हुन्।बिहान घरबाट निस्कँदा बेलुका सुरक्षित फर्किने ग्यारेन्टी छैन।सडक पार गर्ने बटुवा,साइकल र मोटरसाइकल चालक तथा यात्री सबैजना जोखिममा छन्। दुर्घटनामा ज्यान गुमाउनेको परिवारको पीडा कसले बुझ्ने ? क्षतिपूर्ति दिने नाममा केही रकम थमाएर जिम्मेवारी पूरा भएको ठान्ने प्रवृत्तिले समस्या झनै गम्भीर बनाएको छ।अब समाधान के हो ?कडाइका साथ नियम कार्यान्वयन गर्नुपर्छ।
निष्कर्ष : आतंकको अन्त्य कहिले ?
“मधेशमा टिपर आतंक कहिले सम्म ?”यस प्रश्नको जवाफ तब मात्र सकारात्मक हुन सक्छ, जब सरोकारवाला निकायहरूले आफ्नो भूमिकालाई पुनःपरिभाषित गर्छन्।नेपाल प्रहरीले “अपरेसन”लाई नाटकमा सीमित नराखी निरन्तर गर्ने प्रणाली विकास गर्नुपर्छ। ट्राफिक प्रहरीले टिपरलाई “आयस्रोत”का रूपमा हेर्ने मानसिकताको अन्त्य गर्नुपर्छ।जिल्ला समन्वय समितिले “समन्वय”भनेको बैठक र प्रेस विज्ञप्तिमा मात्र नभई जनताको जीवन रक्षाका लागि ठोस योजना बनाउनुपर्छ।भने स्थानीय तहहरु ठेक्का लगाएर राजश्वर कमिसन असुल्नमा मात्र नभई अनुगमनमा पनि सक्रिय हुनुपर्छ ।
यदि यी निकायहरू आफ्नो पुरानै लापरवाही र मौनताको नीतिमा अडिग रहे भने यो आतंक अझै अनिश्चितकालसम्म कायम रहनेछ।तब,मधेशका सडकहरू “विकासको राजमार्ग”नभएर “मृत्यु र भय,त्रासको बजार”का रूपमा चिनिन बाध्य हुनेछन्।तब,हामीले प्रत्येक टिपर दुर्घटनापछि मात्र शोक मनाउने र अर्को घटनाको प्रतीक्षा गर्ने फेरि त्यही दोहोर्याउने अभिशप्त चक्रलाई नै नियति मान्नुपर्ने छ ।
अन्त्यमा,यो लेख कुनै निकायप्रति घृणा फैलाउन लेखिएको होइन,बरु व्यङ्ग्य मार्फत यथार्थको दर्पण देखाउने प्रयास मात्र हो।ती निकायहरूले यसलाई आत्मसमीक्षाको माध्यम बनाउन सक्ने हो भने,मधेशका सडकहरूमा एक दिन पक्कै पनि “टिपर आतंक”को अन्त्य हुनेछ।अन्यथा, इतिहासले यी मौन निकायहरूलाई पनि“टिपर आतंक”को सहयोगीका रूपमा सम्झने छ। लेखक शंखर पहाडी(गौरब) विगत करिब डेढ दशकदेखि सक्रिय पत्रकारिता गरि रहेका छन् ।

सम्बन्धित समाचार