सर्लाहीको मलंगवा नगरपालिका २ मा करिब रु ६ करोडको लागतमा निर्माण भएको नयाँ बसपार्क अलपत्र परेकोे छ । मलंगवा नगरपालिका २ मा करिब रु ६ करोडको लागतमा निर्माण भएको नयाँ बसपार्क प्रयोगमा नआउँदा अलपत्र परेकोे हो ।
नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाम मार्फत करिब रु ६ करोडको लागतमा निर्माण भएको सुविधा सम्पन्न नयाँ बसपार्क संचालनमा नआए पछि अहिले प्रयोग विहीन भएको छ । निर्माण सम्पन्न भएको ६ महिना भइसकेको भएपनि बस पार्क सञ्चालनमा आउन सकेको छैन ।
मलंगवा नगरपालिका ९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तार संगै सवारी साधनहरुको चाप बढेका कारण नयाँ बसपार्कको निर्माण गरिएको भएपनि स्थानिय सरकार मलंगवा नगरपालिकाले समेत वेवास्था गर्दा ठूलो रकम खर्चेर निर्माण गरिएको बस पार्क प्रयोग बिहीन भएको हो ।
टर्मिनल भवनसहित निर्माण गरिएको उक्त बसपार्क संचालनमा नआउँदा जिल्ला सदरमुका समेत रहेको मलंगवामा सवारी साधन व्यावस्थापनमा निकै ठूलो समस्या देखिएको छ । बजारको विचमा रहेको मलंगवा नगरपालिका ९ स्थित जनसागर बजार(श्रीमती कृष्णादेवी जनता मावि को छेउ)मा रहेको पुरानै बसपार्कमा पार्किङ गरि त्यहीँबाट संचालन हुँदा सवारी व्यावस्थापनमा समस्या हुनुको साथै दुर्घटनाको जोखिम समेत बढेको ट्राफिक प्रहरीको भनाई छ ।
एक ट्राफिक प्रहरी अधिकारीले भने“हाल संचालनमा रहेको मलंगवा नगरपालिका ९ स्थित जनसागर बजार(श्रीमती कृष्णादेवी जनता मावि को छेउ)मा रहेको पुरानै बसपार्क एकदमै साँघुरो रहेको छ ।सवारीसाधनहरुको चाप बढेकाले बसपार्क अगाडीको मुख्य सडकमै सवारी साधनहरु पार्किङ गरेर राखिएको छ ।”
नयाँ बसपार्क मुख्य बजारभन्दा टाढा रहेको र त्यहाँ जाँदा साना सवारीसाधनहरुले पुरानो बसपार्क अगाडिबाटै यात्रुहरू उठाएर लैजाने चिन्तामा नयाँ बसपार्कमा बसहरु जान तयार नभएका बुझिएको छ ।
यता,आफुहरुलाई नयाँ बसपार्कको निर्माण कार्य पूरा भएकोबारे कसैले पनि जानकारी नगराएको मलंगवा यातायात सेवा प्रा.लिका अध्यक्ष राजिव यादवले बताउनु भयो । बसपार्क निर्माण गर्ने ठेकेदारले आफूहरूलाई बसपार्क हस्तान्तरण गर्न बाँकी नै रहेको मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताउनुभयो । राज्यको करोडौँ रकम खर्च गरेर बनाइएको बसपार्क हस्तान्तरण भएर संचालनमा आएपछि बस व्यवसायीले बस पार्कमा बस लैजान्न् भन्न नपाउने उहाँले बताउनु भयो ।
बस व्यवसायीलाई राखेर चाँडैनै यस विषयमा छलफल गर्ने र मलंगवा ९ मा रहेको पुरानो बसपार्कबाट नयाँ बस पार्कमा सवारी साधनहरुलाई लैजाने मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले बताउनुभयो। जिल्लाबाट लामो तथा छोटो दुरीका गरी करिब ९० वटा बसहरु दैनिक छुट्ने गरेका छन् ।