सव डिभिजन वन कार्यालय लालबन्दीले एक सामुदायिक वनमा निर्माणाधिन अवस्थामा रहेको संरचना हटाउन भन्दै एक हप्ते सूचना टाँस गरेको छ । सव डिभिजन वन कार्यालय लालबन्दी मातहत रहेको लालबन्दी नगरपालिका १ स्थित रहेको नन्देश्वरी सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा भौतिक संरचना निर्माणाधिन अवस्थामा रहेको भन्दै सव डिभिजन वन कार्यालय लालबन्दीले एक हप्ते सुचना टाँस गरेको हो ।

नन्देश्वरी सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेको भौतिक संरचना वन कार्यालयको अनुमती वेगर आफुखुसी निर्माण सुरु गरिएको पाइएकाले वन ऐन अनुसार सो संरचना एक हप्ता भित्र आफैँले हटाउन र सम्बन्धीत पक्षले नहटाएमा सव डिभिजन वन कार्यालय लालबन्दीले हटाउने सुचनामा उल्लेख गरिएको छ ।
सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख उज्वल कुमार यादवद्धारा हस्ताक्षरीत सूचनामा लालबन्दी नगरपालिका १ स्थित रहेको नन्देश्वरी सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र भित्र विना इजाजत घर बनाउने उद्धेश्यले घरको जग बनाउने कार्य भएको देखिँदा वन ऐनको दफा ४९(ग) बमोजिम राष्ट्रिय वन फाँड्ने वा वन क्षेत्रको जग्गा जोत्ने,खन्ने,खनिज पदार्थ उत्खनन् गर्ने,अवाद गर्ने,सडक तथा अन्य पुर्वाधार निर्माण गर्ने,घर वा छाप्रो बनाउने,व्यवसाय सञ्चालन गर्ने र वन अतिक्रमण गर्ने काम गरे वा गराएमा वन ऐन २०७६ को वर्खिलाप हुने भएकाले उक्त संरचना (जग) सुचना जारी भएको मितिले ७ दिन भित्र हटाउन,भत्काउनको लागि आग्रह गरिएको छ ।
साथै सो सुचनामा समय मै सम्बन्धीत पक्षले भत्काई,हटाई नलगेमा सव डिभिजन वन कार्यालय लालबन्दी बल प्रयोग गर्न बाध्य हुने उल्लेख गरिएको छ । पछिल्लो समय जिल्लाका सामुदायिक वन क्षेत्रको जग्गा तिब्रगतिमा अतिक्रमीत भएको छ । व्यक्तीगत तथा सार्वजनिक र सरकारी पक्षबाट नै वन क्षेत्र अतिक्रमणको शिकार भएको वन कार्यालयले जनाएको छ ।