Close This

सर्लाही ४ बाट महामन्त्री थापाको एकल नाम सिफारिस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२२ गते   ९९७ पटक हेरिएको

आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवम प्रदेश सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको नाम सिफारिस भएको छ । ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि महामन्त्री थापाको मात्रनाम सिफारिस भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाहीले जनाएको छ ।
यस अघिको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सर्लाही क्षेत्र नम्बत्रर ४ बाट डा. अमरेश कुमार सिंह निर्वाचित हुनु भएको थियो । भनेयस पटक माहामन्त्री थापाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य डा.सिंहलाई कार्बाही गरि महामन्त्री थापाको नाम प्रतिनिधि सभा सदस्यका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट सिफारिस गरि जिल्ला कार्य समिति सर्लाहीमा पठाएको जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले जानकारी दिनु भयो । उहाँका अनुसार डा. सिंहलाई जिल्ला अनुशासन समितिले गत असार २ गते नै निलम्बन गरेको पत्र पठाएको र उहाँ वडा तहदेखिको कुनैपनि अधिवेशनहरुमा निर्वाचित हुन असफल भएका कारण महामन्त्री थापाको नाम सिफारिस गरिएको हो ।
सांसद् डा. सिंह २०७० को संविधान सभा निर्वाचनमा तत्कालिन तमलोपा तथा हाल लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र तत्कालिन तमसपाका चर्चित नेता शिवपुजन रायलाई पछाडी पार्दै सर्लाही क्षेत्र नम्बर ४ बाट तथा २०७४ सालको प्रतिनिधि सभा एवम प्रदेश सभा निर्वाचनमा समेत गरि लगातार दुई पटक निर्वाचित हुनु भएकोथियो । यो पटक पनि संघीय सांसद्को रुपमा उम्मेद्वारी दिने अन्तिम तयारीमा रहनु भएका डा.सिंहअनुशासन समितिको कार्बाहीका कारण उम्मेदवार हुनबाट असफल हुुनु भएको कंग्रेस सर्लाहीले जनाएको छ ।
यसपटक भने पार्टीको महाधिवेशनदेखि नै डा.अमरेश असफल भएका कारण महामन्त्री थापाको एकल नाम सिफारिस गरिएको नेपाली कांग्रेस मधेश प्रदेश उपसभापति एवम मधेश प्रदेश सरकारका महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले जानकारी दिनुभयो ।
सर्लाही क्षेत्र नम्बर ४ का लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन महामन्त्री थापाको एकल नाममा कांग्रेस सर्लाहीका सबै नेता कार्यकर्ताले सहमती जनाएका कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति रामआश्रय साहले जानकारी दिनु भयो ।
तर यता, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्य समितिको सिफारिसमा सर्लाही क्षेत्र नम्बर ४ बाट आफ्नो नाम सिफारिसमा नपरे पनि आफुलाई कुनै फरक नपर्ने डा.अमरेश बताउनु भयो । “दुई चार जना बसेर एकपक्षीय ढंगले नाम सिफारिस गर्दैमा मलाई केही फरक पर्दैन,क्षेत्रभित्रका आम नेता कार्यकर्ता मात्र हैन आम मतदाताको चाहना मेरै पक्षमा छ, त्यसैले पार्टी केन्द्रले मलाई नै उम्मेद्वार बनाउने मा ढुक्क छु । ”उहाँले बताउनु भयो ।
त्यस्तै निवर्तमान जिल्ला सभापति लक्ष्मण रायले निर्वाचित संघीय सांसदलाई निषेध नै गरेर एकलौटी हिसाबले उम्मेदवार सिफारिस गरेको सुन्दा साह्रै दुःख लागेको गुनासो गर्नुभयो ।
संस्थापन पक्षका जिल्ला सभापति सुरेन्द्र र संस्थापन ईतर संघीय सांसद् डां अमरेश पक्षबीच एकले अर्काेलाई सिध्याउने गरि निषेधको राजनीति सूरु भएसँगै जिल्लामा कांग्रेस कमजोर हुन थालेको एक कार्यकर्ताको गुनासो छ । कांग्रेसको बलियो पकट मानिने क्षेत्र नं. ४ मा भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा कांग्रेस बलियो हुँदाहुदै गोडैता र बलरा नगरपालिका तथा रामनगर र बसबरिया गाउँपालिका लगायत स्थानिय निकायका प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेद्वारहरुले लज्जास्पद् हार व्यहोरेका छन् । कांग्रेस भित्रको निषेधको राजनीतिले बलरा र गोडैता नगरपालिका थप हुनुको सट्टा यसअघिको स्थानीय निर्वाचनमा कांग्रेसकै पोल्टामा रहेका रामनगर र बसबरिया गाउँपालिका समेत गुमाउनु परेका कांग्रेसी नेताहरुको गुनासो छ ।
नमिठो हारको एकमात्र कारण संस्थापन पक्षका नाममा जिल्ला सभापति सुरेन्द्र र मधेश प्रदेश उपसभापति विरेन्द्रले उम्मेद्वार छनौटमा गरेको एकलौटी अनि डा.अमरेशप्रतिको निषेध नै भएको एक कांग्रेस कार्यकर्ताले बताउनु भयो ।पार्टीका हरेक कार्यक्रम अनि अवसरमा जिल्ला सभापति सुरेन्द्र र प्रदेश उपसभापति समेत रहेका प्रदेश मन्त्री वीरेन्द्रले डा.अमरेशलाई पत्तासाफ गर्ने हिसाबले निषेध गर्ने गर्नुका साथै  प्रतिनिधि सभा सदस्य डा.अमरेशलाई अनुशासनको कार्बाही गर्दै निलम्बनको पत्र सार्वजनिक गरेपछि कांग्रेस सर्लाहीमा निषेधको राजनीति स्पष्ट देखिएको कांग्रेस नेताहरुले बताएका छन् ।
विगतका पार्टी महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनमा पनि डा.अमरेश,नागेन्द्र कुमार राय पक्षमा हुँदा वतृमान सभापति सुरेन्द्र,लक्ष्मण राय पक्षमा थिए भने डा.अमरेश,लक्ष्मण रायको पक्षमा हुँदा सुरेन्द्र,नागेन्द्रको पक्षमा खुलेर लागेका थिए ।
तर भर्खरै सम्पन्न महाधिवेशनबाट भने बलियो बनेको संस्थापन पक्षले संस्थापन ईतरका डा.अमरेशलाई सिध्याउने नै हिसाबले निषेधको राजनीति सुरु गरेको नेताहरुको भनाई छ । संस्थापन ईतरको बहुमत भएपनि प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ र २ बाट संस्थापन पक्षका पूर्व आमन्त्रित केन्द्रीय सदस्य शम्भूलाल श्रेष्ठ,पूर्व जिल्ला सभापति नागेन्द्र कुमार राय,जंगिलाल राय लगायतको नाम सिफारिस भएको छ । संस्थापन पक्षकै बाहुल्य रहेको क्षेत्र नम्बर ३ ले पनि संस्थापन ईतरका नेता विनोद खनाल,नवीन अधिकारी लगायत नेतालाई सिफारिस गरेको जिल्ला कार्य समितिका सचिव निरज कार्कीले बताउनु भयो ।
तर ४ नम्बर क्षेत्रमा भने एकले अर्काेलाई सिध्याउने गरि निषेधको राजनीति हुँदा समग्र सर्लाही कांग्रेसभित्रै त्यसको ठूलो असर पुग्ने नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण प्रसाद थपलियाले बताउनु भयो । १२ वटा स्थानीय निकायमा जित्यौं भनेर नफुर्के हुन्छ, संस्थापन पक्ष र ईतर पक्षका नाममा हुने निषेधको राजनीतिले अन्ततःपार्टी पतनको दिशामा जाने निश्चित हो,थपलियाले बताउनु भयो । घरका सबै मान्छे मरेदेखि तातो खरानीमा लुटुपुटु गर्थेँ भन्ने बिरालोको चाहना जस्तो गुट र उपगुटका नाममा निषेधको राजनीतिले पार्टी नै बिरालोको हालतमा पुग्ने निश्चित छ,गुट र उपगुटका नाममा यसरी निषेधको राजनीतिलाई बढाउँदै लगे स्थानीय निकाय निर्वाचनमा ४ नम्बर क्षेत्रमा व्यहोर्नु परेको नमिठो हारको स्वाद अब संघीय निर्वाचनमा जिल्लाभरका नेता कार्यकर्ताले चाख्नुपर्ने अवस्था आएको उहाँले बताउनु भयो ।
स्थानिय निकायको निर्वाचन २०७९ बैशाखमा जिल्लाका २० वटा स्थानिय निकायहरु मध्य नेपाली कांग्रेसले १२ वटा स्थानिय नियकामा जित निकालेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech