गाउँ सभा तथा बजेट पारित नहुँदा कर्मचारी र शिक्षकले दशैँमा तलब पाएनन्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१५ गते   ४३३ पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका कर्मचारी र शिक्षकले दशैँमा तलब पाएनन् । हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाको बजेट पारित नहुँदा कर्मचारी र शिक्षकले दशैँमा तलब नपाएका हुन ।
हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका वृद्धवृद्धा,एकल महिला,अपाङ्ग लगायत पनि मुख्य चाडमा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएका छन् । जिल्लाको हरिपूर्वा नगरपालिकामा गत असारमै नगरसभा प्रारम्भ भए पनि त्यसपछि कार्यपालिकाको बैठक नै बस्न सकेको छैन् ।
यस्तै, जिल्लाको विष्णु गाउँपालिकाको गाउँ सभा नै भएको छैन । गाउँ तथा नगर सभा सम्पन्न गरी बजेट पारित नहुँदा यि दुवै स्थानिय निकायका कर्मचारी र विद्यालयका शिक्षकहरुले दशैँ जस्तो मुख्य चाडमा पनि तलब नपाएकोगुनासो गरेका छन् ।
बजेट पारित गर्न पटक–पटक बैठक बोलाइएको भए पनि अन्य दलका कार्यपालिका सदस्य उपस्थित नभएका कारण बजेट पारित गर्न नसकिएको हरिपूर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साहले बताए । उनले कर्मचारी,शिक्षकलगायतले दशैँ अघि नै तलब खान पाउन् भनेर बुधबार मात्रै पनि बैठक बोलाइएको तर कांग्रेसबाहेक अन्य दलका कार्यपालिका सदस्य उपस्थित नभए पछि बैठक बस्न सकेन ।
हरिपूर्वा नगरपालिकामा १९ जना कार्यपालिका सदस्यमध्ये ९ जना कांग्रेसका,७ जना जनता समाजवादी पार्टी (जसपा) र ३ जना लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रहेका छन् । यस्तै, दशैँमा तलब खुवाउन नसके पनि तिहार र छठमा भने कर्मचारी–शिक्षकको तलब तथा सामाजिक सुरक्षा भत्ता नरोकिने विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवले बताए ।
अल्पमतमा रहेका विष्णु गाउँपालिकाका अध्यक्ष यादवले गाउँसभाको तयारी भइरहेको बताएपनि विभिन्न कारणले गाउँ सभा हुन नसकेको बताए । विष्णु गाउँपालिका र हरिपूर्वा नगरपालिकाबाहेक जिल्लाका अन्य १८ वटा स्थानिय निकायको भने तलब,भत्ता निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका प्रमुख जीवन पुरीले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech