आफुहरु कुनै पार्टीको नभई जनताको उम्मेदवार रहेको स्वतन्त्र उम्मेदवार खड्का र श्रेष्ठको घोषणा

1.4k Shares


सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य र क्षेत्र नम्बर १(ख) मा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले आफूहरु उम्मेदवारी दर्ताको मितिदेखि नै कुनै पनि पार्टीमा नरहेको घोषणा गरेका छन् ।
सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका लालबन्दी नगरपालिकाका निवर्तमान नगर प्रमुख मानबहादुर खड्का र क्षेत्र नं. १ (ख) मा प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका लालबन्दी नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष राजनकुमार श्रेष्ठले आफूहरु उम्मेदवारी दर्ताको मितिदेखि नै कुनै पनि पार्टीमा नरहेको घोषणा गरेका हुन् ।
उनीहरु दुवैले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी हाल कुनै पार्टीमा आवद्ध नरहेको घोषणा गरेका हुन् । नेकपा(एमाले)का नेता एवम लालबन्दी नगरपालिकाका निवर्तमान नगर प्रमुख खड्का र नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिका सचिव एवम लालबन्दी नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष श्रेष्ठले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी हाल कुनै पार्टीमा आवद्ध नरहेको घोषणा गरेका हुन् ।
पार्टीले टिकट नदिएपछि उनीहरु दुवैले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले बुधबार मात्रै खड्कालाई ‘पुतली’ र श्रेष्ठलाई ‘जेब्रा’ चुनाव चिन्ह दिइसकेको छ ।
नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र),नेकपा(एकिकृत समाजवादी) सहित पाँच दलिय गठवन्धन र एमाले–जसपा गठवन्धनमा आफ्नो दलले टिकट नपाएपछि रुष्ट बनेका कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताको साथ र भरोसा पाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएको सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १(ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार श्रेष्ठले बताए । उनले आफुहरुको स्वतन्त्र उम्मेदवारी कुनै पार्टीका नेताहरुको विरोधमा नभई सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १(ख)का जनताको चाहना र माग अनुसारको रहेको बताए । 
सर्लाही क्षेत्र नं. १ को प्रतिनिधि सभामा ५ दलिय गठवन्धनबाट लोसपाका रामप्रकाश चौधरी र एमाले–जसपा गठवन्धनबाट प्रमोद साहले टिकट पाएका छन् । यस्तै, प्रदेश सभा तर्फ क्षेत्र नं. १ (ख) मा ५ दलिय गठवन्धनबाट बेची लुंगेली र एमाले–जसपा गठवन्धनबाट एमालेकी शान्तिकुमारी लामाले टिकट पाएकी छन् ।
सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका लालबन्दी नगरपालिकाका निवर्तमान नगर प्रमुख खड्कालाई प्रतिनिधि सभा सदस्य पदमा र निवर्तमान वडा अध्यक्ष श्रेष्ठलाई प्रदेश सभा(ख)मा उठाउन कांग्रेस,एमाले र माओवादी केन्द्रका नेताहरुको भित्री साथ रहेको पाइएको छ । खड्का र श्रेष्ठले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तीमा सबैको साथ र मायाले माथिल्लो कमिटीमा नाम सिफारिस भई गएता पनि स्थानीय जनताको साथ,समर्थन र इच्छा विपरीत माथिल्लो तहबाट केही शिर्ष नेताहरुको आफ्नो निजी स्वार्थका लागि गठवन्धनको नाममा जवरजस्ती गरी स्थानीय मतदाताको भावना विपरीतको उम्मेदवार बनाएको आरोप लगाइएको छ ।
उनीहरुको पत्रकार सम्मेलनमा नेकपा(एमाले)का नेता गोविन्द अधिकारी,माओवादी केन्द्रका नेता केदार काफ्लेलगायत एमाले र माओवादी केन्द्रका अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । खड्का र श्रेष्ठ सँगसँगै क्षेत्र नं. १ (क) मा माओवादी केन्द्रका रामचन्द्र सिंह कुशवाहा पनि उम्मेदवारी दर्ता गराउन पुगेका थिए । कुशवाहालाई माओवादी केन्द्रले टिकट दिएको छ । ५ दलिय गठवन्धनमा लोसपा रहेको र १ (क) मा लोसपाका उपेन्द्र महतोले पनि टिकट पाएकाले ५ दलिय गठवन्धनको उम्मेदवार रामचन्द्र कि उपेन्द्र भन्ने अन्यौलता कायमै छ । खड्का र श्रेष्ठले आफूहरु दुवै अहिले विशुद्ध स्वतन्त्र रहेको पत्रकार सम्मेलनमा घोषणा गरेका छन् ।

सम्बन्धित समाचार