सर्लाहीमा छठीघाट (पूजास्थल) निर्माण काम पूरा भएको छ । छठीमाताको पूजाका लागि जिल्लाका पोखरीहरुका साथै नदी किनारहरुमा छठीघाट (पूजास्थल) निर्माण गर्ने काम पुरा भएको हो । जिल्लाभरका पोखरी,खोला,नदी र नहर किनारमा सरसफाई गरी छठीघाट तयार पारिएको हो ।छठीघाटमा बाँस गाडेर शीत छेक्न टेन्ट लगाइएको छ ।कतिपय स्थानमा कृत्रिम पोखरी निर्माण गरेर छठीघाट तयार पारिएको छ ।
व्रतालुले छठका लागि आवश्यक पर्ने सरसामग्री किनिसकेका छन् ।बजारमा छठका लागि प्रयोग हुने बाँसबाट बनेका विभिन्न सामग्री,माटाका भाँडासहित केरा,पानी भएको नरिवल,पान,भान्टा,मुला, अदुवा र उखुलगायत फलफूल र हरियो तरकारीको व्यापार बढेको स्थानीय व्यापारीहरुको भनाई छ ।छठीमातालाई चढाइने विभिन्न परिकार समेत तयार पारिएको व्रतालुले बताएका छन् ।अहिले छठ पर्व मनाउनका लागि रोजगारी तथा अध्ययनको सिलसिलामा जिल्ला बाहिरि रहेकाहरु पनि धमाधम घर फर्किएका छन् ।
आज छठको दोस्रो दिनलाई हो ।छठको दोस्रो दिनलाई“खरना”भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् ।शुक्रबारदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा,मासु,लसुन,प्याज,कोदो आदीको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् ।कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई) को पूजा गरिन्छ । देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र,पत्नी नभएकालाई पत्नी र धन नभएकालाई धन प्रदान गरेको धर्मग्रन्थहरुमा उल्लेख छ ।छठलाई एउटा कठिन व्रत र उपवासको रूपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो,संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रहेको छ ।कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्ध चढाइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।