सर्लाहीमा बजारहरुमा चाडपर्व शुरु भएसंगै बजार अनुगमन सुरु गरिएको छ । नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ जस्ता प्रमुख चाडपर्व नजिकिएसँगै जिल्लाका बजारहरुको अनुगमन शुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको अगुवाईमा हरिपुर र नवलपुर बजारका ४ वटा पसलको अनुगमन गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिनु भयो । उहाँका अनुसार नवलपुर बजारमा भोजनालय, डेरी र डिपार्टमेन्ट स्टोर गरी ३ वटा र हरिपुर बजारमा एउटा दाना पसलको अनुगमन गरिएको हो ।
त्यस क्रममा चारवटै पसल व्यवसायमा मूल्य सूची नराखेको, सरसफाईमा ध्यान नदिएको जस्ता कमजोरी पाइएको र आगामी दिनमा ती कमजोरी सुधार गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो । हरेक वर्ष यसरी चाडपर्वको बेला औपचारिकता निभाउन बजार अनुगमन गरिँदै आएको छ । भने कार्बाही केके र किन गरिए भन्ने तथ्यांक पनि सरोकारवाला निकायसंग छैन भने मुल्य सुचि नराखी, प्रयोग मिति नाघेका उचित स्टोर नरहेका धेरै व्यापार व्यावसायहरु रहेका भएपनि त्यसतर्फ सरोकारवाला निकायको ध्यान पुगेको छैन ।
बजार अनुगमन झारो टराई हुने गरेको भन्दै नागरिक स्तरबाट बारम्बार गुनासो आउने गरेको छ । कतिपय स्थानमा त बजार अनुगमन हुन लागेको सुन्नासाथ व्यापारीहरुले पसल नै बन्द गरेर भाग्ने गरेका छन् ।