सर्लाहीमा देउसी राती ८ बजे सम्म मात्र खेल्न पाईने

1.3k Shares


जिल्ला प्रशासन कार्यालय सर्लाहीले दीपावली,नेपाल संवत् र छठपर्वको अवसरमा जिल्लाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको सर्लाहीका  प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । उनले चाडपर्व लक्षित सुरक्षा योजना बनाई जिल्लाका सबै सुरक्षा निकायहरुबाट  पूर्णरूपमा कार्यान्वयन भइरहेको बताए। प्रजिअ गौतमका अनुसार ‘कुनैपनि विपद्जन्य घटना केही पनि छैन, उच्च सुरक्षा सतर्कतासहित चाडपर्व सुरक्षा योजना कार्यान्वयन भइरहेको छ ।’


देउसीभैलो राति ८ बजेसम्म मात्र खेल्न पाइने 
तिहारमा राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ । राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्ने गरी सुरक्षा प्रबन्ध गरिएको प्रशासनले जनाएको छ ।  देउसीभैलो खेल्नका लागि राति ८ बजेसम्म मात्र समय तोकिएको प्रमुख जिल्ला अधिकारी गौतमका बताए ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले जरुरी सूचना जारी गर्दै देउसीभैलो राति ८ बजेसम्म मात्र खेल्नु–खेलाउन जानकारी गराएको थियो । ‘देउसीभैलो खेल्न ७ बजेसम्म मात्र तोकिएको थियो नागरिकबाट माग भएबमोजिम राति ८ बजेसम्म खेल्न दिने निर्णय गरिएको छ, सोहीअनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको छ’, प्रजिअ गौतमले बताए ।
प्रशासनले जुवातास जन्य गतिविधि नियन्त्रणमै रहेको जनाएको छ । त्यस्ता गतिविधिलाई नियन्त्रण र निरुत्साहित गर्न प्रशासन सक्रिय ढङ्गले लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिए । सर्लाही प्रशासनले दीपावली, नेपाल संवत् र छठपर्व प्रचलित परम्परा अनुसार सामाजिक एवम सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन सबैमा जरुरी सूचनामार्फत अनुरोध गरेको छ ।

यस अवसरमा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन नगरी सुरक्षित र मर्यादित तवरले मनाउन,दीपावलीको अवसरमा बिजुली एवम मैनबत्तीजस्ता सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न पनि प्रशासनले आग्रह गरेको छ । प्रशासनले पटका, आतिसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न–नगराउन सबैमा अनुरोध गरेको छ । यो सूचनाको पालना नगरेमा कानुनबमोजिम कारबाही हुने जानकारी गराइन्छ’जिल्ला प्रशासन कार्यालय सर्लाहीद्धारा जारी गरिएको सूचनामा भनिएको छ ।

सम्बन्धित समाचार