चुनावी प्रचारमा भारतीय नम्बर प्लेटका सवारीसाधनकाे अत्याधिक प्रयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१९ गते   ३२२ पटक हेरिएको

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यकाे निर्वाचनको मिति नजिकिँदै जाँदा सर्लाहीमा भारतीय नम्बर प्लेटका साना सवारीसाधनहरुको अत्याधिक प्रयोग भएको छ। 
 प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरूले आफ्नो निर्वाचनको प्रचार प्रसारका लागि  भारतीय नम्बर प्लेटका सवारीसाधनहरुकाे प्रयोग गरेका हुन । 
नेपाली नम्बर प्लेटका सवारीसाधनहरुको तुलनामा भारतीय नम्बर प्लेटका सवारीसाधनहरु कम भाडामा पाइने भएका कारण चुनावी प्रचार प्रसारमा उम्मेदवारहरुको रोजाइमा भारतीय नम्बर प्लेटका सवारीसाधनहरुकाे प्रयाेग बढेकाे हाे ।
 भारतसँग सीमा जोडिएको सर्लाहीका हरेक निर्वाचनमा भारतीय सवारीसाधनहरु कै प्रयाेग हुने गरेकाे छ ।  जिल्लाका अधिकांश स्थानीयले समेत भारतीय नम्बर प्लेटका सवारीसाधनहरु घरमा राख्ने गरेका छन्।
पार्टीको झन्डा हालेर गाडी कुदाउँदा ट्राफिक प्रहरीले चेकिङसमेत नगर्ने र भाडासमेत सस्तो पर्ने भएका कारण आफूले भारतीय नम्बरको गाडी प्रयोगमा ल्याएको उम्मेदवारहरुले नै बताएका छन् । 
 सर्लाहीका कुनै पनि उम्मेदवारहरुले निर्वाचन प्रचार प्रसारका लागि  सवारी पास नलिएका र केही सवारी पास तयार पारिएको भए पनि उम्मेदवारहरु लिन नआएका मुख्य निर्वाचन अधिकृत एवम सर्लाही २ का निर्वाचन अधिकृत कविराज न्यौपानेले बताए ।
 साथै पास वितरण गर्दा पनि  भारतीय नम्बर प्लेटका सवारी साधनहरुकाे पास दिन नमिल्ने र त्यस प्रकारका सवारीसाधनहरु चलाएमा निर्वाचन आचारसंहिता विपरित हुने मुख्य निर्वाचन अधिकृत न्याैपानेले बताए । साथै उम्मेदवारहरुले प्रचार प्रसारमा भारतिय नम्बरका सवारीसाधनहरु चलाएकाे विषयमा  हामीलाई पनि केही जानकारी आएकाे उनले बताए ।
तर सर्लाहीका सबै उम्मेदवारहरुले १०/१५ वटाका दरले भारतिय नम्बरका सवारीसाधनहरु   प्रयाेग गरेका छन् । तर निरेवाचन आचारसंहिता अनुगमन समिति लगायत सराेकारवाला निकाय माैन देखिएका छन् ।

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech