मतदानको ७२ घन्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२२ गते   ८४४ पटक हेरिएको

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही सहित मधेश प्रदेशका नेपाल–भारत सीमा नाका तीन दिन अघिदेखि बन्द गरिने भएको छ । नेपाल–भारत दुवैतर्फका सुरक्षा अधिकारी तथा जिल्लाका पदाधिकारीहरु र सम्वद्ध अधिकारीहरुबीच मंगलबार भएको छलफलबाट मतदानको तीन दिनअघि अर्थात् ७२ घन्टा अघिदेखि नै सीमा नाका सिल गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले जानकारी दिए । उनका अनुसार नेपालका तर्फबाट सर्लाही,राैतहट र महाेतरीका  प्रमुख जिल्ला अधिकारी,सहित चारैवटा सुरक्षा निकायका प्रमुखहरु सहित दुवै देशका सुरक्षतकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी  गौतमको नेतृत्वमा बसेको बैठकमा राैतहटका प्रमुख जिल्ला अधिकारी, तीन वटै जिल्लाका नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुका साथै नेपाल–भारत दुवैतर्फका सुरक्षा अधिकारी तथा जिल्लाका पदाधिकारीहरु र सम्वद्ध अधिकारीहरुबीचको छलफलबाट मतदानको तीन दिनअघि अर्थात् ७२ घन्टा अघिदेखि नै सीमा नाका सिल गर्ने निर्णय  भएको हाे ।
यस्तै, बैठकमा जिल्लाका भन्सार कार्यालयका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । भारतको तर्फबाट भने सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा त्यहाँका प्रहरी प्रमुख,भन्सार प्रमुख र एस.एस.बी. का अधिकारीहरुको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
बैठकमा नेपालमा बैशाख ३० मा भए  स्थानिय निकायको निर्वाचनमा भारतिय अधिकारीहरुबाट पाएको सहयोगका लागि नेपाली पक्षले धन्यवाद् व्यक्त गर्नुका साथै नेपालमा मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा आवश्यक सहयोग तथा समन्वय गर्ने भारतीय पक्षले प्रतिवद्धता व्यक्त गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।         
बैठकमा खुला सीमा नाकाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रण,लागूऔषध तथा मद्यिराको ओसारपसार नियन्त्रण,सूचना आदानप्रदान,अवैध मुद्राको कारोवार नियन्त्रण तथा साना हातहतियारहरुको ओसारपसारमा रोक लागाउने र नेपालमा मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको सुरक्षा संवेदनशीलताको विषयमा समेत छलफल भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech