Close This

उखु किसानहरु आन्दोलनको तयारीमा

रासस    प्रकाशित: २०७७-१-२७ गते   ३९३ पटक हेरिएको

लकडाउनको मारमा सर्लाहीका उखु किसानहरु थप पीडित बनेका छन । जिल्लाको धनकौल गाउँपालिका ६ मा रहेको अन्नपुर्ण चिनी उद्योगले किसानहरुको उखुको रकम भुक्तानी गर्न पटक पटक सम्झौता गरेपनि हालसम्म एक रुपैँया पनि भुक्तानी नगरेको भन्दै किसानहरुले गुनासो गरेका छन ।
उद्योगले वि.स २०७० सालदेखि हालसम्म १२ हजार किसानहरुको करिब ४० करोड रुपैँया भुक्तानी गर्न बाँकी राखेको भन्दै किसानहरुले उद्योगलाई चिनी बिक्रि वितरणमा रोक समेत लगाएको उखु उत्पादक किसान मुकेश ठाकुरले बताउनु भयो । उहाँका अनुसार केही दिन पहिला उद्योगले किसानहरुलाई थाहा नै नदिई गोप्य रुपमा गोदामबाट चिनी बाहिर लैजान खोज्दा स्थानिय किसानहरुले चिनी लोड भएका ४ वटा ट्रक नियन्त्रणमा लिएका थिए । त्यस पश्चात उद्योगले एक दुई जना किसानहरुलाई केही रकम मात्र दिएपनि पुरै रकम नदिएको साथै सबै किसानहरुको रकम नदिएको भन्दै किसानहरुले उद्योगको विरुद्धमा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन ।


लक डाउनको समयमा किसानहरुको आवतजावत कम भएको मौका छोपी उद्योग प्रशासनले गोप्य रुपमा चिनी लैजान खोज्दा सबै गाउँले किसानहरु मिलेर ट्रकलाई नियन्त्रणमा लिएको स्थानियवासीले बताएका छन ।
गोडैता नगरपालिका स्थित महालक्ष्मी चिनी उधोगले पनि गत सालको केही रकम भुक्तानी गर्न बाँकी रहेको स्थानिय किसान ठाकुरले बताउनु भयो । यो साल मार्च १ तारिखसम्म संचालनमा गरेको महालक्ष्मी चिनी उद्योगले जनवरी २१ सम्मको किसानहरुको रकम मात्र भुक्तानी गरेको ठाकुरले बताउनु भयो ।
सरकारले उखु किसानहरुलाई  धोका दिएर किसानहरुले पाउनु पर्ने उखुको अनुदान समेत अहिले सम्म नपठाएको किसानहरुले बताएका छन । जारी लक डाउनका कारण बाहिर काम गर्न पनि जान नपाएको र आफ्नो खेतबारीमा उत्पादन भएको कृर्षी जन्य पदार्थको भुक्तानी पनि नपाउँदा किसानहरु मारमा परेका हुन । उद्योगले भुक्तानी समयमा नदिएपछि आफ्नो खेत बेचेर साहूको ऋण चुक्ता गर्न बाध्य भएको अर्का किसान रामशरण यादवले कमलामाई खबरलाई बताउनुभयो।
भुक्तानीका लागि जिल्लामा पटकपटक आन्दोलन गरेका उखु किसानहरुले न्याय नपाएपछि पौषको कठयांग्रियो जाडोमा नांगो खुटा आन्दोलन गर्न काठमाडौँ पुगेका थिए। समयमै उखुको भुक्तानी माग राख्दै जिल्लाका उखु किसान माइतीघर मण्डलामा प्रदर्शन तथा धर्नामा समेत बसेका थिए। भने सरकारले उखु किसान तथा उद्योगी बिच सहमति गराउदै किसानहरुलाई आन्दोलन स्थगित गरी पठाएको भएपनि अन्नपूर्णा चिनी उद्योगले सम्झौता विपरीत किसानहरुको भुक्तानी समयमा नगर्दा किसानहरु थप मर्कामा परेका हुन। 
किसानहरुले उद्योगको गोदाममा रहेको चिनी बिक्रि वितरण गर्न नदिएका कारण किसानहरुको रकम भुक्तानीमा ढिला भएको अन्नपुर्ण चिनी उधोगका सञ्चालक राकेश अग्रवाल बताउनु भयो ।

आफ्नो गोदाममा चिनी छ किसानहरुले बेच्न दिदैनन् । अनी कसरी उनिहरुको भुक्तानी गर्न सकिन्छ । अग्रवालले बताउनु भयो । भने किसानहरुले थोरै भएपनि सबै किसानहरुलाइ तत्कालै भुक्तानी दिन माग गरेका छन । यदि उद्योगले यथासिघ्र थोरै भएपनि उखुको भुक्तानी नदिए आन्दोलन गर्ने तयारीमा रहेको उखु किसानहरुले बताएका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech