सर्लाहीमा मतगणना सोमबार बिहानबाट सूरु हुने,मतगणना स्थलमा मतपेटीका भगवान भरोसामा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-४ गते   २२९ पटक हेरिएको

 प्रदेश सभा एवम प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत भएको मतदानको मतपेटीका संकलनको काम जारी रहेको छ । आईतबार साँझ ५ बजे समम भएको मतदानको मतपेटीका मतगणना स्थलसम्म ल्याएर रुजु गरी निर्वाचन अधिकृतले बुझ्ने काम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार सर्लाहीमा करिब ६२ प्रतिशत मत खसेको छ ।
अहिले राती १२ः३० यो समाचार तयार पार्दा सम्म मतदान स्थलबाट मतगणना स्थल सम्म ल्याइएका मतपेटीकाहरु निर्वाचन अधिकृतले रुजु गरी बुझ्ने काम भई रहेका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार देशभर कै सबै भन्दा धेरै २० स्थानिय निकाय रहेको सर्लाहीमा ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा रहेका छन् भने सबै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयहरुमा मतदान अधिकृत,सुरक्षाकर्मी एवम राजनैतिक दलका प्रतिनिधि सम्मिलित टोलीसँग मतपेटिका बुझ्ने काम चलिरहेको छ ।
जिल्लाका ४ वटै निर्वाचन अधिकृतको कार्यालयमा मतदान अधिकृतहरुसँग मतपेटिका तथा आवश्यक अन्य कागजपत्र बुझ्ने काम जारी रहेको जिल्ला निर्वाचन अधिकारी निर्मल पोखरेलले जानकारी दिए ।
जिल्लाको क्षेत्र नम्बर १ को लालबन्दी नगरपालिका १४ नारायण खोला,लालबन्दी नगरपालिका १५ परवानीपुर र इश्वरपुर नगरपालिका १२ अन्तर्गत कालिञ्जोर क्षेत्रका मतदान केन्द्र भौगोलिक रुपमा साह्रै विकट रहेकाले मतपेटिका आउनै ढिलाई भएको निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले जनाएको छ ।
जिल्लाको क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय लालबन्दीमा,क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति सर्लाहीको कार्यालयमा,क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय मालपोत कार्यालय हरिवनको नयाँ भवनमा र सर्लाही क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय गोडैता नगरपालिका ४ स्थित रहेको वेणी भोला नमुना माविमा मतदान अधिकृतहरुसँग मतपेटिका तथा आवश्यक अन्य कागजपत्र बुझ्ने काम जारी रहेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।
जिल्लाका चारैवटा निर्वाचन क्षेत्रमा करिब ६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी पोखरेलले बताए । उनका अनुसार ‘हालसम्म ईन्ट्री भएको तथ्यांक हेर्दा करिब ६२ प्रतिशत मत खसेको देखिन्छ।’‘निर्वाचन अधिकृतको कार्यालयहरुमा मतपेटिका बुझाउने क्रम अहिले पनि चलिरहेको छ,सम्पूर्ण मतपेटिका बुझेर ईन्ट्रीको कार्य सम्पन्न भएपछि मात्र कति मत खस्यो भन्ने एकीन गर्न सकिन्छ ।’ जिल्ला निर्वाचन अधिकारी पोखरेलले बताए ।
एकसाथ मतपेटिका लिएर मतदान अधिकृतहरुको भिड लागेपछि सिमित स्रोत साधन र जनशक्ति रहेका कारण मतपेटीका बुझ्ने काम ढिला भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आईतबार साँझदेखि राती अबेरसम्म मतपेटिका बुझाएर फर्किने तथा लिएर आउने सवारी साधनको चापले निर्वाचन अधिकृतको कार्यालय नजिक सवारीसाधनहरुको निकैचाप देखिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयहरुमा मतपेटिका बुझ्ने कार्य सक्नै सोमबार बिहान ३ बजेसम्म लाग्न सक्नै बुझिएको छ । मतपेटिका बुझ्ने कार्यमै निकै लामो समय अर्थात राती ३ बजेसम्म चल्ने भएकाले मतगणनाको कार्य सोमबार बिहान करिब ८ बजेबाट मात्र सूरु हुने मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए ।
निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका बुझ्ने काम सम्पन्न भएपछि सर्वदलीय छलफल गर्ने लगायत प्रकृया पुर्याएर मात्र मतगणनाको काम सूरु हुने भएकाले पनि सामेबार बिहान करिब ८ बजेबाट मात्रै मतगणनाको काम सुरुहुने जिल्ला निर्वाचन अधिकारी पोखरेलले बताए ।
यता,मतपेटीका लिएर आउने उममेदवारहरुका प्रतिनिधिहरुको सहभागीता न्युन रहेका कारण पनि मतपेटीका बुझ्ने कार्यमा ढिला हुन गएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाई छ ।
जिल्लामा ४ लाख ७९ हजार ३८ जना मतदाता रहेका छन् भने ३ सय १२ मतदान स्थल र ६ सय मतदान केन्द्रमा रहेका छन् । प्रतिनिधि सभाको लागि ६९ जना र प्रदेश सभाको लागि १ सय ३३ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा १ सय ९ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने  ९३ जना विभिन्न राजनैतिक दलहरुबाट उम्मेदवार रहेका छन् ।
सर्लाही निर्वाचन ४ लाई देशभरी कै निर्वाचन क्षेत्रहरुको तुलनामा निकै सम्वेदनसिल क्षेत्रको रपमा हेरिएको भएपनि यस पटकको मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवम निर्वाचन आचारसंहिता अनुगमन समितिका सह संयोजक थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार जिल्लाका मतदान स्थलहरु तथा मतदान केन्द्रहरुमा सामान्य बाहेक कुनै अप्रिय घटना घटेन् ।
तर मतपेटीका सुरक्षाकर्मीको जिम्मा लगाएर कुनै पनि उम्मेदवारका प्रतिनिधिहरु मतगणना स्थलसम्म नआउँदा मतदान स्थल र मतदान केन्द्रबाट मतगणना स्थलसम्म सुरक्षित ल्याइएका मतपेटीका भगवान भरोसमा छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech