सर्लाहीका सक्रिय पत्रकार खत्रीलाई स्व.गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२० गते   १०१८ पटक हेरिएको

प्रथम स्वर्गिय गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारबाट  सर्लाहीका एक सक्रिय  युवा पत्रकार सम्मानित भएका छन् । प्रथम स्व.गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारबाट  सर्लाहीका एक सक्रिय  युवा पत्रकार जनार्जन खत्री सम्मानित भएका हुन् ।
खत्रीलाई मंगलबार सम्पन्न नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औँ वार्षिक साधारण सभामा यो पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुरले जानकारी दिए । सचिव ठाकुरका अनुसार पत्रकार खत्रीलाई सम्मान–पत्र र रु १५ हजार ५ सय ५५ नगद सहित सम्मान गरिएको हो । सर्लाहीमा विगत करिब एक दशकदेखि क्रियाशील पत्रकारिता गर्दै आएका पत्रकार खत्रीलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघका सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले बताए । 
पूर्व पत्रकार तथा मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश झा (अहिराज) ले २०७६ सालमा रु ५१ हजार सहयोग गरी पत्रकारिता कोष स्थापना गरेका थिए । सो कोषबाट महासंघको निवर्तमान जिल्ला अध्यक्ष एवम मधेश प्रदेश कार्य समितिका कोषाध्यक्ष विश्वनाथ ठाकुरले कोरोनाका कारण बीचमा पुरस्कार वितरण गर्न नसकिएको र पहिलो पटक पत्रकार खत्रीलाई प्रदान गरिएको बताए । 
महासंघको ११ औँ वार्षिक साधारण सभामा महासंघकी केन्द्रिय सदस्य रिंकु कुमारी मिश्र,आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव,प्रदेश सभा सदस्य बेची लुंगेली,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोलगायतको विशेष उपस्थिती रहेको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्षहरु चूडामणि वाग्ले, रोशन न्यौपाने,शंकर श्रेष्ठ र विश्वनाथ ठाकुरलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको आयोजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech