Close This

ठेकेदारकाे ढिलासुस्तीकाे स्थानीयद्वारा विराेध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-६ गते   १६० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १५ र १६ स्थित परवानीपुरका स्थानीयहरुले ठेकेदारले समयमै काम नगरेकाे भन्दै बाटामा मुढा तेस्र्याएर बाटो बन्द गरेका छन् । लालबन्दी नगरपालिका १५ र १६ परवानीपुरचोकबाट पुर्व देउरालिसम्म पुग्ने बाटोमा ग्रावेल गरेको लामो समय भईसक्दा पनि ठेकेदार कम्पनीको लापर्बाहीका कारण कालोपत्रे सम्पन्न नभएको भन्दै स्थानीयले बाटो बन्द गरेका हुन ।

उनिहरुले समयमै बाटाे निर्माणकाे काम नसकिँदा अत्याधिक धुलो उडेको कारण आजित भएका स्थानीयले निर्माणकार्य चाडैं गर्न ठेकेदारकाे ध्यानाकर्षण गराउन भन्दै  बाटाे बन्द गरेका हुन । स्वास्थ्यमा प्रतिकुल असर परेको स्थानीय दिपक खड्काले बताए  । उनका अनुसार साना तथा ठुला सवारीसाधन चल्दा सडकमा बिछ्याईएको गिट्टि उछिट्टिएर घरमा लाग्ने,घरमा बसेका तथा बाटोमा हिड्ने पैदलयात्री तथा विद्यार्थीहरुलाईसमेत ढुङ्गाले लाग्ने जोखिम बढेको  छ ।  ठेकेदारले पटक पटक म्याद थप्दै काम नगर्ने गरेको स्थानीयकाे गुनासो छ । आर्थिक वर्ष २०७८/०७९ काे अन्तिममा काम सक्नुपर्ने भनिए पनि विभिन्न बहानामा अहिलेसम्म कालोपत्रे नहुँदा स्थानीय आजित भएका छन् ।

आफुले पटक पटक ठेकेदारलाई छिटो काम सक्न भने पनि सुनुवाई नगरेको लालबन्दी नगरपालिका १५ का वडा अध्यक्ष गाेरख बलले बताए । उनका अनुसार ठेकेदारले केहि प्राविधिक समस्या देखाउँदै काममा आलटाल गर्ने काम भईरहेको बताए । लालबन्दी नगरपालिका १५ को देउरालीबाट परवानीपुरचोक हुँदै चिसापानी,सतभैयादेखि लालबन्दी जोड्ने सडकको हाल देउरालीबाट परवानीपुर चोकसम्म कालोपत्रे गर्ने काम भईरहेको छ ।

सो बाटो पिच गर्नका लागी शहरी विकाश तथा भवन कार्यालय धनुषाले पहिलो पटक रु १ करोड बजेट दिएको र त्यसले अपुग भएपछि पुनः बजेट थपिएको लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष गणेश थापाले बताए । उनका अनुसार सो सडकले लालबन्दी  १५ र १६ दुबै वडालाई छोएको छ ।

यता सडक कालोपत्रे गर्ने ठेकेदार सिताराम आचार्यले फागुनको पहिलो साताबाट कालोपत्रेको काम सुरु गर्ने बताएका छन् । उनले केहि समय अगाडि कालोपत्रे सुरु गर्नै लाग्दा बाटो सानुपर्ने भन्दै गुम्बा झर्ने ओरालो छेउका स्थानीयले अवरोध गरेका कारण काम रोकिएको बताए । तर केहि ठाउँमा नाला निर्माण गर्नुपर्ने,ढलान गर्नुपर्ने र कल्भर्ट वाल बनाउनुपर्ने काम बाँकी रहेको र जाडो महिनामा कालोपत्रे गर्ने काम गर्न नमिल्ने भन्दै ठेकेदार आचार्यले बाहना बनाए । ३ हजार ४ सय मिटर बाटोमा ४ सेन्टिमिटरको पिच गर्न आचार्यले ठेक्का लिएका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech