सहारा मल्टिपर्पस को–आपरेटिभ सोसाइटी लिमिटेड मलंगवाको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा.वसी अहमद मिकरानीको अध्यक्षता एवम जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशक किशोर सिंहको प्रमुख आतिथ्यतामा सहारा मल्टिपर्पस को–आपरेटिभ सोसाइटी लिमिटेड मलंगवाको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष मिकरानीले गत आर्थिक वर्ष २०७७÷०७८ मा संस्थाको कुल शेयर पुँजी रु चार करोड ५९ लाख सात हजार पाँच सय रहेकोमा आ.व २०७८÷०७९ सम्ममा रु चार लाख ३९ हजार छ सयले वृद्धि भई कुल शेयर पुँजी चार करोड ६३ लाख ४७ हजार एक सय भएको जानकारी गराए । साथै, जगेडा कोषमा १० लाख ४७ हजार चार सय ४८ रहेको उनले बताए । उनले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १९ औं साधारण सभासम्म आइपुग्दा सदस्य तथा कर्मचारीहरुको सक्रिय सहभागिताले आर्थिक कारोबारमा सन्तोषजनक प्रगति गर्न सकेकको बताए ।
सदस्यहरुबाट प्रदान गरिएको निक्षेपको रकम आ.व ०७७÷०७८ मा रु ६७ करोड पाँच लाख २५ हजार एक सय २६ रहेकोमा आ.व ०७८÷०७९ सम्ममा चार करोड २३ लाख ५३ हजार सात सय छ ले वृद्धि भइ कुल निक्षेप रकम ७१ करोड २८ लाख ७८ हजार आठ सय ३३ रहेको अध्यक्ष मिकरानीले बताए ।
देशव्यापी रुपमा तरलताको कमीलाई मध्येनजर गरि संस्थाले गर्नुपर्ने आयमुलक कार्य नगरि तरलता कायम राखेकोले लक्ष्य अनुसारको प्रतिफल प्राप्त नभए पनि यस आ.ब मा संस्थाले रु १५ लाख ४७ हजार पाँच सय ७५ रुपैयाँ ३१ पैसा नाफा आर्जन गरेको अध्यक्ष मिकरानीले जानकारी दिए ।
जिल्ला समन्वय समिति सर्लाहीका उप सभापति जितेन्द्र कुशवाहा,पुर्व सांसद भिखारी मंसुर,संस्थाका उपाध्यक्ष नागेन्द्र प्रसाद गुप्ता लगायतको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रमको अवसरमा प्रधान कार्यालय लगायत सेवा केन्द्रहरु बरहथवा,हरिवन,गोडैता र पर्साका असल ऋणी,बचतकर्ता र निक्षेप संकलनकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको आयोजक सहारा मल्टिपर्पस को–आपरेटिभ सोसाइटी लिमिटेड मलंगवाले जनाएको छ ।
सोही अवसरमा जिल्लाको आर्थिक,सामाजिक र सहकारीको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्तिहरुलाई समेत संस्थाले सम्मान गरेको मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले जानकारी दिए। उनका अनुसार मलंगवा नगरपालिका १० स्थित जानकी पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा संचालक समितिका सदस्य,शेयर सदस्य,कर्मचारी,बचतकर्ता लगायतको उपस्थिति रहेको थियो ।