Close This

गाउँपालिका सार्ने विषयमा चन्द्रनगर तनावग्रस्त, सुरक्षाकर्मीद्वारा १३ सेल अश्रुग्याँस प्रहार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-२१ गते   २९४ पटक हेरिएको

 सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कार्यालय सार्न खोजेको भन्दै स्थानिय आक्रोशित भएका छन् । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले गाउँपालिकाको कार्यलय सार्न खोजेपछि आक्रोशित बनेका स्थानियले गाउँपालिकाका अध्यक्ष महत्तोका स्वकिय सचिवलाई आक्रमण गर्न खोजेपछि चन्द्रनगर तनावग्रस्त बनेको थियो । 
आक्रोशित भिडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले आक्रोशित भिडलाई तितर वितर गर्ने क्रममा स्थानियले अटेर गरेपछि १३ सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । 
‘नेपाल प्रहरीको तर्फबाट १० तथा सशस्त्र प्रहरीको तर्फबाट ३ सेल अश्रुग्याँस प्रहार भएको प्रहरी उपरिक्षक राठौरको भनाई छ, यो समाचार तयार पर्दा घटनास्थलको अवस्थामा सामान्य बनिसकेको प्रहरीले जनाएको छ ।’ प्रहरी उपरीक्षक राठौरका अनुसार गाउँलेको ढुंगा प्रहारबाट ४ जना प्रहरी सामान्य घाईते भएका छन् भने दुईवटा ढाल फुटेको छ ।    
          त्यस्तै प्रहरीको लाठीचार्ज एवम अश्रुग्याँस प्रहारबाट केही प्रदर्शनकारी सामान्य घाईते भएका प्रहरीले जनाएको छ । गाउँपालिकाको कार्यलय हाल वडा नं. ७ नारिमन ताल छेउमा रहेको छ । हाल सम्म सोही स्थानबाट आफ्नो सेवा प्रवाह गरि रहेको गाउँपालिकाको कार्यलय वडा नं. २ बबरगंज सार्न खोजेको भन्दै वडा नं. ६ र ७ का स्थानिय बासिन्दाले शुक्रबार मध्यान्हदेखि गाउँपालिका कार्यालय भवन तथा चन्द्रनगर बजारमा  विरोध प्रदर्शन गरेका छन् । 
     हाल गाउँपालिका कार्यालय रहेकै वडा नं. ७ का बासिन्दा गाउँपालिका अध्यक्ष महतोको निर्देशनमा गाउँपालिकाको कार्यलय र्सा खोजिएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका वडा नम्बर ६ का वडा अध्यक्ष राम चन्द्र  कापरले बताउनु भयो । गाउँपालिका अध्यक्षले कार्यालयमा नभई आफ्नै घरमा विशेष गाउँसभा बोलाएर कार्यालय सार्ने षडयन्त्र गरेको स्थानीयको आरोप छ । वडा नं. ६ र ७ का बासिन्दाहरुले गाउँपालिका कार्यालय सारिसकेको दाबी समेत गरेका छन् । 
 यता गाउँपालिका अध्यक्ष महतो भने गाउँसभाको दुईतीहाई मतले पारित गरेर प्रदेश सरकार तथा संघीय सरकार समक्ष सिफारिस गरिने र सिफारिस सदर भएपछि मात्र कार्यालय सर्ने बताउनु भयो । ‘अहिले कार्यालय सरिसकेको छैन, केहीदिनमा विशेष गाउँपरिषद् बोलाएको छु, परिषदले दुईतीहाई बहुमतले निर्णय गर्छ गर्दैन त्यो मलाई थाहा छैन’, गापा अध्यक्ष महतोले कमलामाई खबरलाई बताउनु भयो ।  ‘दुईवटा वडा बाहेक ५ वटा वडाका वडाध्यक्ष सहित वडासदस्य एवंम गाउँलेले पहिलादेखि नै गाउँपालिका कार्यालय सार्न मलाई दबाव दिँदै आएका छन्, । चुनावमा उठ्दादेखि नै मलाई अधिकांश मतदाताले कार्यालय सार्नुपर्ने प्रतिवद्धता मागेका थिए ।’ गाउँपालिका अध्यक्ष महत्तोले बताउनु भयो । हाल कार्यालय रहेको स्थान निकै कोल्टे परेकाले गाउँपालिका बासीलाई पायक नपरेको समेत दाबी उहाँको छ । ३९ सदस्यीय गाउँसभामा कम्तिमा २६ जना गाउँसभा सदस्यले सार्नुपर्ने पक्षमा हस्ताक्षर गरेभने मात्र कार्यालय सार्ने प्रकृया अगाडी बढ्ने अध्यक्ष महतोले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech