Close This

हरिवनमा कृषि सामुदायिक वन कार्यक्रम प्रभावकारी बन्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१९ गते   २६८ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ३,४ र ५ स्थित रहेको लखनदेही नदी किनारको नदी उकास जमिन कृषि सामुदायिक वन कार्यक्रम अन्र्तगत तरकारी खेती कार्यक्रम निकै प्रभावकारी भएको छ । कोरोना संक्रमणको प्रभावमा परेका विपन्न किसानहरुले नदी उकास जमिनमा  कृषि सामुदायिक वन कार्यक्रम अन्र्तगत तरकारी खेती गरि नदी उकास बगरलाई हराभरा बनाउनुको साथै कार्यक्रम प्रभावकारी देखिएको छ ।
हरिवन नगरपालिका ३,४ र ५ का कोभिड १९ पीडित विपन्न किसानहरुले नदी उकास बगरमा कृषि सामुदायिक वन कार्यक्रम अन्र्तगत तरकारी खेती गरि आफ्नो दैनिकीलाई सहज बनाएका छन् । नदी उकास,खेर गईरहेको वन क्षेत्र र बगरका खाली जमिनमा कृषि सामुदायिक वन कार्यक्रम अन्तर्गत खनजोत गरी लगाइएको तरकारी खेतीबाट उत्पादन राम्रो भएपछि किसानहरुको जीविकोपार्जन निकै सहज भएको हरिवन नगरपालिका ४ का वडा अध्यक्ष केशवराज थापाले बताए । उनका अनुसार किसानहरुले बगरखेती गरि उत्पादन गरेको तरकारी विक्रीबाट राम्रो आम्दानी गरेर  घरव्यवहार चलाउन सहज भएको हो ।
विभिन्न तीन समुहमा विभाजन गरी कृषि सामुदायिक वन कार्यक्रम अन्र्तगत तरकारी खेती गर्दा आफुहरुको दैनिक जीविकोपार्जन गर्न अरुको काम गर्न जानु पर्ने बाध्यता हटेको हरिवन नगरपालिका ३ मोहनपुरकी तरकारी उत्पादक किसान एवम मोहनपुर कृषि सामुदायिक वन समुहकी अध्यक्ष गंगा कुमारी ब्लोनले बताईन् ।उनका अनुसार उनको मोहनपुर कृषि सामुदायिक वन समुहमा ६६ जना विपन्न कृषकहरु रहेका छन् ।
आफूहरुले खुर्सानी,करेला,लौका,कांक्रा,फर्सि,चिप्ले भिण्डी लगायतका तरकारी उत्पादन गरिरहेको ब्लोनले बताईन् । कृषि सामुदायिक वन समुह निर्माण गरेर नदी उकास तथा बगरको खेर गएको जमिनमा उत्पादन गरेको तरकारी विक्रीबाट भएको आम्दानीको केही रकम आफ्नो समूहमा जम्मा गर्ने गरेको समेत उनले बताईन् ।
‘तरकारी बिक्रीबाट आउने केही पैसा हामीले समूहमा जम्मा गर्ने गरेका छौं,त्यो पैसा कहिलेकाही बिउविजन र विषादी किन्ने पैसा अभाव भएको समयमा समूहका सदस्यहरुले पालैपालो चलाउने गरेका छौं,मोहनपुर कृषि सामुदायिक वनकी अध्यक्ष ब्लोनले बताईन् ।उनले सामुदायिक वनको खाली,पर्ती जग्गा र नदी उकास जग्गामा तरकारी खेती गर्न थालेपछि  आफ्नो घरव्यावहार चलाउन पैसाको अभाव हुन छाडेको बताईन् । ‘पहिले पैसाको मुख देख्न पाईन्नथ्यो,अब त तरकारी विक्रीबाट राम्रो आम्दानी हुन थालेको छ,घर व्यवहार चलाउन पैसाको खाँचो टरेको छ,’मोहनपुर कृषि सामुदायिक वनकी अध्यक्ष ब्लोनले बताईन् ।
युएनडिपीको आर्थिक सहयोगमा ग्रामीण स्वयमसेवक समाज हरिवनले सुरु गरेको बगर तथा नदी उकासको जमिनलाई कृषि सामुदायिक वन समुह निर्माण गरि सुरु गरिएको तरकारी खेती कार्यक्रमबाट राम्रो आम्दानी भएको र घरव्यवहार चलाउनुको साथै आफ्ना नानीबाबुहरुलाई पढाउन सफल भएको अर्का किसान राम बहादुर मगरले बताए ।
त्यसैगरी  हरिवन नगरपालिका ४ की अजमिरी खातुनले पनि तरकारी खेतीबाट राम्रो आन्दानी गरेकी छन् । समूहकी कोषाध्यक्ष समेत रहेकी खातुनले आफ्नो प्लटमा खर्बुजा,काँक्रा,बोडी,भाण्टा लगायतका तरकारी लगाएकी छन् ।समूहमा मिलेर लगाइएको तरकारीले राम्रो बजार लिएको भन्दै खातुनले खुसी व्यक्त गरिन् ।
ग्रामीण स्वयम सेवक समाज हरिवनले करिब २० विघा जमिनमा विभिन्न कृषक समूहहरु बनाई सामुहिक तरकारी खेती गरेको छ । हरिवन नगरपालिकाले उपलब्ध गराएको खाली पर्ती,ऐलानी र खेर गईरहेका सामुदायिक वन क्षेत्र तथा नदी उकासमा गरिएको कृषि खेतीबाट हरिवन नगरपालिका ३ का ६६  घर परिवार,हरिवन नगरपालिका ४ का ४८ घर परिवार र हरिवन नगरपालिका ५ का ८६ घर परिवार गरी करिब दुई सय विपन्न परिवार प्रत्यक्ष लाभान्वित भएका युएनडिपीका कृषि प्राविधिक सुरज खनालले जानकारी दिए । उनका अनुसार कृषि सामुदायिक वन कार्यक्रम अन्तर्गत सुरु गरिएको तरकारी खेतीबाट विपन्न परिवारले राम्रो आन्दानी लिएका छन् ।
‘विपन्न परिवारका किसानहरुले गरेको परिश्रम र बगाएको पसिनाको फल लिन थाले पछि उहनीहरुको दैनिकीमा निकै परिवर्तन आएको युएनडिपीका क्षेत्रिय प्रतिनिधि धन बहादुर चन्दले बताए ।उनका अनुसार गरे के हुँदैन भन्ने हरिवनका करिब दुई सय विपन्न परिवारले सावित गरेका छन् ।’किसानहरुले उत्पादित तरकारी लौका,घिरौला बोडी,हरियो साग,पर्वल,फर्सी,खर्बुजा,काँक्रो खुर्सानी लगायतका तरकारीबाट राम्रो आम्दानी दिन थालेका युएनडिपीका क्षेत्रिय प्रतिनिधि चन्दले बताए ।
करिब तीन वर्ष अघि ग्रामीण स्वयमसेवक समाज हरिवनले युएनडिपीसँग विपन्न नागरिकको क्षेत्रमा काम गर्न सम्झौता गरेर  हरिवन नगरपालिका भित्रका खाली,पर्ती,नदी उकास र खेर गई रहेका सामुदायिक वन क्षेत्रका जग्गा उपलब्ध गराइ सुरु गरेको तरकारी खेती अहिले नमुना बन्दै गएको युएनडिपीका क्षेत्रीय प्रतिनिधि चन्दले बताए । नागरिकहरुकै आर्थिक अवस्था उकास्ने उद्धेश्य अनुरुप हरिवन नगरपालिकाले पनि त्यस्ता खेरगई रहेको नगरपालिका भित्रको जग्गा २५ वर्षका लागि उपलब्ध गराएको र सोही जमिनमा किसानहरुले तरकारी  खेती सुरु गरेका हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले बताए । उनका अनुसार सो क्षेत्रमा आँप कटहर,लिची लगायतका फलफुल समेत लगाइएको र सम्झौता अवधि सकिएपछि सो जमिन नगरपालिकाले फिर्ता लिने छ ।
ग्रामीण स्वयम सेवक समाज हरिवनले तरकारीखेती गर्न मल,विउविजन,विषादी,सिचाईका लागि आवश्यक पर्ने बोर्डिङ्ग समेत लगायत आवश्यक स्रोतसाधन नै उपलब्ध गराउने गरेको हरिवन नगरपालिका ३ का वडा अध्यक्ष दिपमान लोप्चनले बताए । उनका अनुसार किसानहरुले उत्पादन गरेको तरकारी अहिले देशका २० भन्दा बढी बजारहरुमा पुग्न थालेकोे छ ।‘सो क्षेत्रमा हरिवन नगरपालिकाले ४ फेजको विद्युत लाईन उपलब्ध गराएका कारण किसानहरुले प्लट प्लटमै कृषि मिटर समेत जडान गरिसकेका’कृषि प्राविधिक खनालले बताए । 
नगरपालिका क्षेत्रभित्र खेर गई रहेको जमीनको सदुपयोग हुने र विपन्न नागरिकको आर्थिक अवस्था समेत उक्सिने भएपछि आफूहरुले युएनडिपी र ग्रामीण स्वयमसेवक समाजलाई खाली पर्ती जग्गा उपलब्ध गराएको हरिवन नगरपालिकाको कृषि शाखाले जनाएको छ । तीन वटा वडाबाट सुरु गरिएको कृषि सामुदायिक वन कार्यक्रम अन्य वडामा पनि विस्तार गर्न सके त्यसले नागरिकको आर्थिकस्तर माथि उठ्नुका साथै हरियाली प्रवद्र्धन र वातावारण संरक्षणमा समेत टेवा पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।
विपन्न वर्गको आर्थिक अवस्था उकास्नु र उनीहरुको जीविकोपार्जनमा टेवा पु¥याउनु नै संस्थाको उद्धेश्य रहेको युएनडिपी नेपालका सहायक आवासीय प्रतिनिधि विजय प्रसाद सिंहले बताए । उनका अनुसार आफूहरुको योजना अनुरुप नगरपालिकाले खेर गई रहेको जमिन उपलब्ध नगराएको भए अहिलेको सफलता प्राप्त हुने थिएन । त्यस्तै किसानहरुले पनि धेरै मेहनत गरेका कारण उनीहरुको जीवनशैली नै फेरिएको छ ।
कोरोना संक्रमणको मारमा परी रोजगारी गुमाएका विपन्न किसानहरुले आफूहरुको आर्थिक अवस्था उकास्न कृषि सामुदायिक वन कार्यक्रम लागू गरेर राम्रो काम गरेको ग्रामीण स्वयमसेवक समाज हरिवनका अध्यक्ष दधिराम पौडेलले बताए ।उनका अनुसार किसानहरुले अझै मेहनत गरे अरु सहयोग गर्न समेत दातृ निकाय तयार रहेको छ ।
लखनदेही नदी किनारमा रहेको नदी उकास तथा हरिवन नगरपालिका ३,४ र ५ मा खेर गईरहेको खाली,पर्ती जमिनमा सुरु गरिएको तरकारी खेतीबाट विपन्न किसानहरुले राम्रो आम्दानी लिई रहेका हरिवन नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech