सामुदायिक विद्यालय शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताईन्।सर्लाही जिल्ला मै पहिलो पटक बलरा नगरपालिकाले आयोजना गरेको विज्ञान प्रदर्शनी मेला उद्धघाटन गर्न सर्लाही आएकी मन्त्री भट्टराईले विज्ञान र प्रविधिको क्षेत्रमा विद्यार्थीहरुले देखाउने गरेका प्रतिभाहरुलाई राज्यले प्रोत्साहन गरेर अझ अगाडि बढाउनुपर्ने बताइन् ।
सर्लाहीको बलरा नगरपालिकास्थित जनता नमूना मा.वि. गडहीया डुमरियामा आयोजित विज्ञान प्रदर्शनी मेलामा विद्यार्थीहरुले राखेका विज्ञान तथा प्रविधिका स्टलहरुको निरीक्षण गर्दै मन्त्री भट्टराईले विद्यार्थीहरुको ज्ञान,सीप र क्षमतालाई अघि बढाउने दायित्व तीनै तहका सरकारको रहेको बताईन् ।अहिलेको युगमा व्यवहारिक शिक्षा अति आवश्यक रहेको बताउँदै मधेशका सामुदायिक विद्यालयहरुमा शिक्षकको अभाव र खस्कँदो शिक्षाको गुणस्तरप्रति चिन्ता व्यक्त गर्दै मधेशको शैक्षिक गुणस्तर माथि उकास्न र शिक्षकहरुको परिपूर्तिका लागि आफ्नो पहल रहने मन्त्री भट्टराईले प्रतिवद्धता व्यक्त गरेकी छन् ।
“विज्ञान र नवीनतम प्रविधिको यात्रामा सबैको साथ र सहभागिता”भन्ने मूूल नाराका साथ बलरा नगरपालिकाले यूनेस्कोसँग सहकार्य गरी दुई दिने जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेलाको आयोजना गरेको हो।प्रदर्शनीमा स्टल राख्नका लागि जिल्लाका २० मध्य १४ स्थानीय तहहरुका ३७ वटा विद्यालयहरु छनौट भएका थिए ।मेलामा उत्कृष्ट ठहरीने विद्यालयलाई पुरस्कृत गरिने बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर कुशवाहाले बताए ।उनका अनुसार माध्यमिक तहतर्फ प्रथम हुने विद्यालयलाई रु ३० हजार,द्वितीय हुने विद्यालयलाई रु २५ हजार,तृतीय हुने विद्यालयलाई रु २० हजारका साथै अन्य दुईवटा विद्यालयलाई रु १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै,आधारभूत तह अन्तर्गत प्रथम हुने विद्यालयलाई रु १५ हजार,द्वितीय हुने विद्यालयलाई रु १० हजार,तृतीय हुने विद्यालयलाई रु सात हजार र अरु दुईवटा विद्यालयलाई रु चार हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने बलरा नगरपालिकाको शिक्षा शाखाका पवन कुशवाहाले बताए ।उनका अनुसार विज्ञान प्रदर्शनी मेला सञ्चालन गर्न बलरा नगरपालिकाले रु १५ लाख र युुनेस्कोले रु पाँच लाख गरी रु २० लाख बजेट विनियोजन गरेका छन् ।मंगलबार उद्धघाटन भएको विज्ञान प्रदर्शनी मेला भोलि सकिने छ ।