२१ औँ शताब्दीमा प्रवेश गरिसक्दा पनि मधेशी समाजमा महिलाहरू स्वतन्त्र रूपमा बाँच्न पाएका छैनन्।घरदेखि समाजसम्म उनीहरू अझै परम्परागत घेराबन्दीभित्र सीमित रहेका छन्।आधुनिकताले विश्व बद्लिए पनि मधेशका छोरी,बुहारी र महिलाहरूको जीवन अझै घुम्टोभित्र कैद छ।
मधेशमा विवाहित महिलाहरूलाई घुम्टो लाउने परम्परा पुरानो संस्कृति मानिन्छ।बुहारीले ससुरा, जेठाजु,परिवारको जेठो सदस्य तथा बाहिरी पुरुषहरूसँग अनुहार देखाउनु हुँदैन भन्ने मान्यता छ।तर यही घुम्टोले महिलालाई स्वतन्त्र जीवन जिउन नदिएको गुनासो महिलाहरूबाटै आउने गरेको छ।“हामीलाई सानैदेखि अनुशासनका नाममा अनुहार छोप्न सिकाइन्छ।यो सम्मान हो भनिन्छ,तर कहिले काहीँ लाग्छ,यो बन्धन मात्र हो,”एक युवतीले भनिन् ।
“मधेशी समाजमा छोरीलाई अझै सीमित दायरामा राखिन्छ।घरबाहिर निस्कँदा मर्यादा,लवाइ,हिँडडुल, पढाइ र विवाह आदिमा परिवारको कडा निगरानी हुन्छ।विद्यालय जान पाउने अवसर केही हदसम्म सुधार भए पनि कलेज पढ्न जानेलाई अझै समाजले राम्रो नजरले हेर्दैन।छोराहरू स्वतन्त्र रूपमा हिँड्न सक्छन्,तर छोरीहरूका लागि सयौँ नियम छन्।के यो समानता हो?” उनले प्रश्न गरिन् ।
विवाहपछि मधेशी महिलाहरुको जीवन अझ कठिन बन्छ।प्रायःजसो बुहारीहरूलाई घरको काम,सासू–ससुराको सेवा,श्रीमान् र सन्तानको हेरचाहमा सीमित गरिन्छ।केही शिक्षित महिलाले जागिर खान खोजे पनि परिवारको दबाबका कारण उनीहरू इच्छा अनुसार अगाडि बढ्न नसक्ने गरेका महिला अधिकारकर्मीहरु बताउँछन् ।“विवाहपछि हामीले श्रीमान् र परिवारका लागि बाँच्नुपर्ने हुन्छ।हाम्रो आफ्नै सपना र चाहना पनि छन् भन्ने कुरा समाजले कहिले बुझ्ने?”एक शिक्षित गृहिणीले प्रश्न गरीन् ।
परिवर्तनको आवश्यकता
महिलाहरूलाई सम्मान दिनु संस्कृतिको हिस्सा हो,तर घुम्टोभित्र सीमित राख्नु उनीहरूको आत्मनिर्भरता र व्यक्तित्व दबाउने मानसिकता रहेको महिला अधिकार कर्मीहरुको ठकर भएपनि समाजले ती कुराहरु स्वीकार गरेको छैन्।मधेशी समाजले अब घुम्टोलाई मात्र संस्कार मान्ने कि महिलाहरूलाई स्वतन्त्र रूपमा बाँच्न दिने भन्ने गम्भीर प्रश्न उठेको अधिकारकर्मीहरु बताउँछन् ।
“घुम्टोभित्र राख्नु होइन,बरु उनीहरूलाई स्वतन्त्र निर्णय लिन दिनु हो।शिक्षा,जागरूकता र सोचाइमा परिवर्तन ल्याएर मात्र महिलाहरूको जीवन सहज बनाउन सकिन्छ।”एक महिला अधिकारकर्मीले बताईन्।हरेक वर्ष मनाईने नारी दिवशहरु दिवशको रुपमा मात्रै सिमित हुन नहुने जानकारहरु बताउँछन् ।