Close This

सरकारी एम्बुलेन्स थन्कीदा सर्वसाधारणलाई सास्ती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-४ गते   २११ पटक हेरिएको

मेनुका कुमारी पौडेल

सर्लाहीको इश्वरपुर नगरपालिका ६ स्थित हुलाकी सडक छेउमा सरकारी एम्बुलेन्स अलपत्र रहेको करिब आठ वर्ष भयो । इश्वरपुर नगरपालिका ६ स्थित रहेको इश्वरपुर स्वास्थ्य चौकीको सरकारी एम्बुलेन्स इश्वरपुर नगरपालिका ६ स्थित हुलाकी सडक छेउमा सरकारी एम्बुलेन्स अलपत्र रहेको करिब आठ वर्ष हुँदा समेत सरोकारवाला निकाय मौन देखिएको छ ।


देश सङ्घीय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै अलपत्र अवस्थामा छाडिएको छ । ना १ झ ९६८ नम्बरको सरकारी एम्बुलेन्समा स्थानीय सरकारको नजर नपुग्दा सडक छेउमै अलपत्र अवस्थामा रहेको हो । जसका कारण सो क्षेत्रकासेवाग्राहीहरु महँगो भाडा तिरेर नीजि एम्बुलेन्सको प्रयोग गर्न बाध्य भएका छन् ।
भारत सरकारको सौजन्यमा खरिद भएको इश्वरपुर स्वास्थ्य चौकीको एम्बुलेन्स समिति मार्फत् सञ्चालनमा रहेको थियो । एम्बुलेन्स सञ्चालक तथा व्यावस्थापन समिति मार्फत् सञ्चालित एम्बुलेन्स स्थानीय तहका निवर्तमान जनप्रतिनिधिहरु र समिति बीचको विवादका कारण बेवारिसे भएको पाइएको छ । समितिको खातामा करिब रु सात लाख बचत रहेको भएपनि एम्बुलेन्स मर्मतमा कसैको पनि ध्यान नपुगेको इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।“उक्त एम्बुलेन्स विगत लामो समयदेखि बेवारिसे छ । एम्बुलेन्स मर्मत गरी सञ्चालनमा ल्याउन आफुहरुले निवर्तमान नगर प्रमुखसंग पटक पटक आग्रह गरौँ तर तत्कालीन नगर प्रमुखले वास्था गर्नुभएन।”इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले बताए ।  


उनका अनुसार लामोसमय  प्रयोग बिहीन अवस्थामा वेवारिसे थन्कीएको एम्बुलेन्स अबमर्मत गरेर पनि प्रयोगमा ल्याउन सकिने अवस्था छैन् ।“हामीले एम्बुलेन्स सञ्चालक तथा व्यावस्थापन समितिको खातामा करिब रु सात लाख रकम पनि छ ।अब त्यो रकम निकालेर सो एम्बुलेन्सको सट्टामा अर्काे एम्बुलेन्स खरिद गर्छाैँ ।”नगर स्वास्थ्य शाखा प्रमुख महतोले बताए ।
त्यस्तै,एम्बुलेन्स सञ्चालक तथा व्यावस्थापन समितिको खातामा रु सात लाख रकम रहेको र तत्कालीन नगर प्रमुख मनोज कुमार देवकोटाले उक्त एम्बुलेन्स नगरपालिकाको नाममा आउने भए मर्मत गर्ने नत्र नगर्ने बताए पछि सरकारी एम्बुलेन्स थन्किएको एम्बुलेन्स सञ्चालक तथा व्यावस्थापन समितिका अध्यक्ष अवध रौनियारले बताए । 
यता,निवर्तमान नगर प्रमुख देवकोटाले उक्त एम्बुलेन्स मर्मत नहुने भएका कारण अर्काे एम्बुलेन्स खरिदका लागि नगरपालिकाबाट रु १० लाख रकम समेत व्यावस्था गरि अर्काे एम्बुलेन्स खरिद गरि आफ्नै वडा इश्वरपुर नगरपालिका ३ को भक्तीपुर स्वास्थ्य चौकीमा  पठाउनु भएको थियो ।उनका अनुसार सो एम्बुलेन्स मर्मत नहुने भएपछि लिलामी गर्न पनि दाताको नाममा रहेका कारण समस्या भएको बताए । 
१५ वटा वडा रहेको इश्वरपुर नगरपालिकामा पाँच वटा स्वास्थ्य चौकी,सात वडा सामुदायिक आधारभूत स्वास्थ्य केन्द्र र एउटा नगर अस्पताल गरि १३ वटा सरकारी स्वास्थ्य संस्था रहेका भएपनि एउटा मात्र सरकारी एम्बुलेन्स रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाभित्र करिब२० वटा निजी एम्बुलेन्स रहेका छन् । नगरपालिकाको एउटा मात्र सरकारी एम्बुलेन्स हुँदा यहाँका विरामी निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य भएका स्थानीय सुरेश साफीले बताए । उनका अनुसार नगरपालिकाका १५ वटा वडा मध्य १३ वटा वडामा सरकारी स्वास्थ्य संस्था छन् भने दुईवटा वडामा अझैँ सरकारी स्वास्थ्य स्थापना हुन सकेको छैन् । भने एउटा सरकारी एम्बुलेन्स छ,निजी एम्बुलेन्स लिएर जाँदा महङ्गो रकम तिर्नुपरेको छ । स्थानीय सरकारलाई यस विषयमा कुनै मतलब छैन् ।
नगर स्वास्थ्य शाखाका अनुसार नगर बाहिर उपचारको लागि बिरामी पठाउनु पर्दा जिल्लाका अरु स्थानीय तहहरुसँग एम्बुलेन्स माग्नुपर्ने बाध्यता छ । समयमै एम्बुलेन्स नपाउँदा बिरामीहरुको अकालमै ज्यान समेत जाने गरेको स्थानीयले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech