सर्लाहीको बाँके संग्रामपुर हुलाकी सडकखण्ड अन्र्तगत हरिपुर्वा नगरपालिका ५ मा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ।बाँकेबाट संग्रामपुर तर्फ जादै गरेको बिआर ३० एइ ८२२० नम्बरको मोटरसाईकलले स्थानीय पैदल यात्री अन्दाजी वर्ष ६८ का गजेन्द्र साहलाई ठक्कर दिँएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार मोटरसाईकलले ठक्कर दिँदा साहको टाउकोमा चोट लागि उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन।पैदल यात्रीलाई ठक्कर दिने मोटरसाईकलका चालक पर्सा गाउँपालिका ५ का अन्दाजी वर्ष २४ का श्रवण कुमार साह सहित ठक्कर दिने मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल भारत खुल्ला सीमानाका साथै पारिवारीक सम्बन्धका कारण नेपालमा भारतिय नम्बरका सवारी साधनहरुको प्रयोग सहज भएको पाइएको छ।कतिपय भारतिय नम्बरका सवारी साधनहरुले भन्सार तिरेका भएपनि जिल्लामा सञ्चालित अधिकांश भारतिय नम्बरका सवारी साधनहरुले भन्सार समेत नतिरी खुलेआम रुपमा प्रयोग भई रहेका पाइएको छ । राज्यको नियमानुसार कुनैपनि भारतिय नम्बरको सवारी साधनले एक वर्षमा बढीमा एक महिना मात्रै भन्सार तिरेर सञ्चालन हुन पाउने भएपनि सर्लाहीमा वर्षौदेखि खुलेआम रुपमा भारतिय नम्बरका सवारी साधनहरु सञ्चालन भई रहेका भएपनि सरोकारवाला निकाय कानमा तोल हालेर बसेको स्थानीय जानकारहरु बताउँछन् ।भन्सार समेत नतिरी नेपालमा प्रवेश तथा सञ्चालन हुने भारतिय नम्बरका सवारी साधनहरुका कारण अपराधिक गतिविधिहरु समेत हुन सक्ने भएपनि सरोकारवाला मौन बस्नुमा स्थानीय सशंकित बनेका छन् ।