लालबन्दीमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने टोली थप पाँच दिन बस्ने

489 Shares

सर्लाहीको लालबन्दी नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन थप पाँच दिन हुने भएको छ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी आफै लालबन्दी नगरपालिका कार्यालयमा आएर नगर प्रमुख बासुदेव अधिकारी लगायतसँग छलफल गरी परिचय पत्रका लागि विवरण भर्न अझै पनि अत्यधिक भिड रहिरहेकाले थप पाँच दिन टोली राख्ने निर्णय गरेका लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष एवम नगर प्रवक्ता गणेश बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार छलफलबाट नगरको उत्तरी भेगका दुर्गम वडालाई मध्यनजर गर्दै त्यस क्षेत्रमै थप अर्को टोली पठाउने निर्णय समेत गरिएको छ।अहिले लालबन्दी नगरपालिका ६ को कार्यालयमा टोली बसेर विवरण संकलनको काम गरि रहेको र लालबन्दी नगरपालिकाको चुरेभेगलाई लक्षित गरी अर्को नयाँ टोली पठाउने निर्णय भएको लालबन्दी नगरपालिकाकी उप प्रमुख कल्पनामाया पाख्रिनले बताईन् ।
लालबन्दी ६ को वडा कार्यालयमा बसिरहेको टोलीले असार १४ गतेदेखि “अफलाईन” विवरण दर्ता गरिरहेकाले विवरण “अनलाईन”गर्न बुधबार एक दिन यो स्टेशन पनि बन्द गरिने र बिहीबारबाट अहिलेको स्टेशनलाई पनि चालु गरिने साथै चुरेभेगमा छुट्टैै स्टेशन राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।भौगोलिक हिसाबले लालबन्दी नगरपालिका ठूलो र चुरेभेगका दुर्गम बस्ती पनि धेरै रहेकाले चुरेभेगका लागि छुट्टैै थप टोली खटाउन लागिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।लालबन्दी नगरपालिकाको उत्तरी चुरेभेगमा पर्ने १२,१३,१४,१५ र १६ नम्बर वडाका लागि अर्को टोली खटिने भएको हो ।सरकारले साउनदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका व्यक्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेसँगै परिचय पत्रका लागि विवरण भनाउने ज्येष्ठ नागरिक,एकल महिला,अपाङ्गता भएका व्यक्तिलगायतको अत्याधिक भिड लागेको छ ।

सम्बन्धित समाचार