सर्लाहीको ईश्वरपुर नगरपालिकाले सोमबार सम्पन्न नवौँ नगर सभा सम्पन्न गरेको छ । इश्वरपुर नगरपालिकाले सोमबार आफ्नो नवौँ नगर सभाबाट १९ वटा कार्यविधि सर्वसम्मतरुपमा पारित गरेको नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए । उनका अनुसार नगरपालिकाको आफ्नै सभाहलमा सम्पन्न नगरसभाको हिउँदे अधिवेशनले १९ वटा कार्यविधि पास गरेको हो ।
नगरसभाको पहिलो बैठकबाटै सर्वसम्मत पारित गरिएको यी कार्यविधिमध्ये केही राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा ल्याइने र केही राजपत्रमा प्रकाशित नगरी सोझै कार्यान्वयनमा ल्याउन सकिने इश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्यले जानकारी दिए ।
उनका अनुसार नगर प्रहरी गठन तथा संचालन कार्यविधि २०७९,शिक्षा ऐन २०७५ को पहिलो संशोधित ऐनको मस्यौदा,विद्यालयमा शिक्षक र कर्मचारी नियुक्तीको लागि मस्यौदा कार्यविधि,नगर स्वास्थ्य ऐन २०७९,नगर अस्पताल÷स्वास्थ्य संस्था स्थापना तथा संचालन कार्यविधि २०७९ लगायतका कार्यविधि नगरसभाको पहिलो बैठकबाटै पारित गरिएको हो । यो आर्थिक वर्षको गएको साउनदेखि अहिलेसम्म कार्यविधि तयार पारेर नगरसभाबाट स्वीकृत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार नगर सभाले केही कार्यक्रमहरुमा सामान्य संशोधनसहित बजेट कटौति गरी अपुग भएको अर्को योजनामा थप गर्ने छ ।
शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा सुधार गर्दै नगरपालिकाका काम कारवाहीलाई पारदर्शी बनाउँदै जाने नगरप्रमुख आचार्यले बताए । उनले नगरको विकास गर्दै नागरिकका सास्ती तथा समस्यालाई हल गर्न सबैसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नगरप्रमुख आचार्यको अध्यक्षतामा आयोजित नगरसभामा उपप्रमुख रन्जितादेवी चौधरी, विभिन्न वडाका वडाध्यक्षहरु,नगरसभा सदस्यहरु,प्रमुख प्रशासकीय अधिकृत,विभिन्न शाखाका प्रमुख,कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।