शंखर पहाडी(गौरब)
सर्लाहीको बरहथवा नगरपालिका ९ स्थित मूर्तियामा रहेका ऐतिहाँसिक मूर्तिहरू वर्षाैंदेखि संरक्षणको पर्खाइमा छन् । पूर्व–पश्चिम राजमार्गबाट करिब १४ किलोमिटर दक्षिण बरहथवा नगरपालिका ९ स्थित मूर्तियामा रहेका ऐतिहाँसिक मूर्तिहरु संरक्षणको पर्खाइमा रहेका हुन् ।
ऐतिहाँसिक तर बेवारिस थुप्रै मन्दिरको भग्नावशेष रहेको मूर्तियामा देवीदेवताका कलात्मक मूर्तिहरु,बुद्धकालीन मूर्तिहरु र स्वर्गका अप्सराहरुको अर्धनग्न मूर्तिहरु वर्षाैंदेखि संरक्षणको पर्खाइमा रहेका छन् ।
पहिले वन्यजन्तु प्रशस्त पाइने घना जंगल रहेको मूर्तियामा २०१२ सालपछि जंगल फडानी गरी आवादी सुरु भएको थियो । २०१७ सालमा मोहनसिंह नामक एक जोगी गाई लिएर मूर्तिया आएर बासबसेका थिए । त्यहाँ उनलाई सपनामा कुनै अदृश्य शक्तिले हाल मूर्तिया गाउँको माझमा अवस्थित पुरातात्विक अवेशषहरुसहितको ढिस्कोमा उत्खनन् गर्न भनेपछ उत्खनन् गर्दा त्यहाँ थुप्रै देवीदेवताका कलात्मक मूर्तिहरु,बुद्धकालीन मूर्तिहरु र स्वर्गका अप्सराहरुको अर्धनग्न मूर्तिहरु फेला परेका भन्ने आफुले सुनेको मूर्तिया मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर महतोले बताए । अध्यक्ष महतोका अनुसार त्यहाँ उत्खनन् गर्दा भग्नावशेषभित्र मन्दिरको जगको बीचमा शिवलिंग भेटिएको थियो।
त्यही बेलादेखि त्यहाँ पूजाअर्चनाको सुरुवात भएको र यज्ञसमेत गरी शिवलिंगको नामाकरण मुक्तेश्वर महादेव गरिएको अध्यक्ष महतोले बताए ।उनका अनुसार काशी भारतबाट वि.संं २०२७ मा स्याली बाबा नामक जोगी मूर्तिया आई ठूलो यज्ञ गरेका र यज्ञ समापनको दिन भोज पकाउन आगो बालेकै स्थानमा भोलिपल्ट उत्खनन् गर्दा भग्नावशेषभित्र पुनः चक्रेश्वर महादेव लिंग फेला परेको थियो । अहिलेसम्म त्यहाँ विभिन्न आकार प्रकारका चारवटा ठूल्ठूला मन्दिरहरूको भग्नावशेष फेला परिसकेको छ ।
“करिब पाँच कठ्ठा जमिनको ढिस्कोमा एक कुटी छ,त्यहाँ पुजारी बस्नुहुन्छ । एक इनार र सुरुङ पनि पाइएको छ । त्यहाँ वरपर खानजोत गर्दा प्राचीन वस्तुहरु इँटा,ढुंगाहरु पाइने गर्छन् । त्यसैले यस स्थानलाई प्राचीन धार्मिक ठाउँ मान्न सकिन्छ ।” बरहथवा नगरपालिका ९ का वडा अध्यक्ष तुलसी लुईटेलले बताए ।उनका अनुसार पुरातात्विक महत्वका संरचनालाई हेर्ने हो भने यो स्थान कुनै समयमा अतिभव्य शिवालय थियो भन्ने देखिन्छ।
मूर्तियालाई तिरहुत राज्यअन्र्तगतको एउटा महत्वपूर्ण स्थानका रुपमा लिन सकिने स्थानीय जानकार एवम बरहथवा नगरपालिकाका निवर्तमान नगरप्रमुख देवानन्द महतोले बताए ।“प्राप्त कलाकृतिका आधारमा यसको निर्माणकाल करिब १२ औँ शताब्दी तिरको हुन सक्ने देखिन्छ। शिखर शैलीको यो मन्दिर ईशाको १२ औँ शताब्दीको मानिन्छ ।”स्थानीय जानकार एवम बरहथवा नगरपालिकाका निवर्तमान नगरप्रमुख महतोले बताए ।
उनका अनुसार “शिखर शैलीको यो मन्दिर करिब आठ मिटर वर्गाकार क्षेत्रमा भत्किएर थुप्रो लागेको छ । वर्गाकार मन्दिरको निर्माण योजना मौलिक छ । यसको चारैतर्फ प्रदक्षिणापथको अवशेष अहिले पनि विद्यमान छन् । प्रदक्षिणापथसम्म जानका लागि सिँढीहरुको व्यवस्था रहेको देखिन्छ । वास्तवमा मन्दिरको अधि संरचना नष्ट भइसकेको छ ।”
मन्दिरको मुख्य प्रवेशद्वार पश्चिमा मुख छ । प्रवेशद्वारसम्म जान सिँढीहरुको व्यवस्था गरिएको छ । सिँढीमाथिको अन्तिम भाग अर्थात् मूलढोकाको ठेलोको रुपमा विशाल एउटा प्रस्तर खण्ड रहेको छ । करिब चार सय ५६ सेन्टिमिटर लामो ४४ सेन्टिमिटर चौडा कलात्मक यो प्रस्तर खण्ड करिब १० टनभन्दा पनि अधिक वजनको प्रतित हुन्छ । मन्दिरको भित्र योजना वर्गाकार देखिन्छ । तर,बाहिरी भाग भने आयताकार छ । जसको लम्बाइ करिब ६ सय २० सेन्टिमिटर र चौडाइ चार सय १६ सेन्टिमिटर रहेको मूर्तिया मन्दिरका व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अनुसार “लम्बाइ र चौडाइको आधारमा यस मन्दिरको उचाइ करिब एक हजार आठ सय सेन्टिमिटर छ । मन्दिरको गर्भगृहमा अत्यन्त कलात्मक विशालकाय तस्बीर छ । जसको लम्बाइ करिब तीन सय ६० सेन्टिमिटर र उचाइ करिब ४५ सेन्टिमिटर छ । एउटै मात्र प्रवेशद्वार भएको यस मन्दिरको प्रत्येक कोणमा दुई÷दुई ढुङ्गा स्तम्भका अवशेषहरु देखिन्छ भने प्रवेशद्वारको दायाँ बायाँ अरु दुई ढुङ्गा स्तम्भको खण्डित भाग अहिले पनि देखिन सकिन्छ ।”
“गर्भगृहभित्रको अलंकारयुक्त ढुंङ्गाका स्तम्भमा कुँदिएका कलात्मक अन्यन्त मनमोहक छन् । पुष्पलताद्वारा अलंकृत यस शिलाखण्डमा नौ वटा वृताकार प्रतिमा रहेका छन् । उक्त कलात्मक प्रतिमाको पृष्ठभूमि भित्रको कमलासनमाथि विभिन्न मुद्र र भावभंगिमा अनेक देवीदेवताका मूर्तिहरुको प्रस्तुती बडो रोचक छ । शिला खण्डमा यस प्रकारको सूक्ष्म कलाकारिताको अंकन अद्वितीय मानिन्छ । यस शिलाको दुईतर्फ पृष्ठभागमा कुँदिएका सिंहका मूर्तिहरु निकै राम्रा छन् । यही क्षेत्रमा विभिन्न प्रकारको पुरातात्विक महत्वको वस्तुहरु पाइने गरिएको छ । एक प्रकारले भन्ने हो भने यो मिथिलाको खुला संग्रहालय पनि हो । समय समयमा पुरातत्व विभागले उत्खनन् गर्ने गरे पनि अहिलेसम्म उत्खन्न पूर्ण हुन सकेको छैन ।”बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले बताइन् ।
दुव्र्यसनीको अखडा,मुर्ति चोरी हुँदै
अहिले मूर्तियामा रहेको ऐतिहासिक मूर्तिहरु चोरी हुने गरिएको छ भने मन्दिर क्षेत्र नै लागुऔषध सेवनकर्ताहरुको अखडा बनेको छ । २०२७ सालमा तत्कालीन राजा महेन्द्र विरविक्रम शाहको पहलमा यो स्थानको उत्खनन् गरिएको थियो । उत्खनन्बाट सयौंको संख्यामा मूर्तिहरू फेला परेका थिए । मूर्तिहरूको संरक्षण गर्न पहल नगरिँदा धेरै मूर्तिहरू चोरी भइसकेका समितिले जनाएको छ । करिब दुई बिघा जमिनमा उत्खनन् गरिए पनि थप उत्खनन् र संरक्षणको कार्य हुन सकेको छैन । कलात्मक देखिने ती मूर्तिहरू हजारौं वर्ष पहिलेका भएका रहेका हुनसक्ने पुरातत्व विभागको अनुमान छ । बाग्मती नदी नजिकै रहेको मूर्तियामा कुनै राजाको ठूलो दरबार हुनसक्ने अनुमान गरिएको छ ।
मूर्तिया मन्दिरको संरक्षण समितिले समेत मन्दिरका कतिपय मूर्तिहरु चोरी भएको बताएको छ । आफुहरुले यसको संरक्षणमा सक्दो प्रयास गरिरहेको बताउँदै मन्दिर प्रांङ्गणमा खुला रुपमा मूर्तिहरु रहेकाले चोरी हुने त्रास बढेको समितिका संयोजक महतोले बताए ।
मन्दिर संरक्षणका लागि सरोकारावालाको ध्यान अहिलेसम्म नगएको स्थानीयवासीको भनाइ छ ।मन्दिरको विषयमा गम्भीर अनुसन्धानसमेत नभएको समितिको आरोप छ । संस्कृतिविद् रामदयाल राकेशले आफू प्रज्ञा प्रतिष्ठानमा रहँदा मूर्तियाको विषयमा सेमिनारको आयोजना गरे पनि यसको संरक्षण र मन्दिरको अध्ययनमा राजनीतिक उदासीनता रहेकाले पछाडि परेको जानकारी दिए । उनले प्रदेश र स्थानीय सरकारले यसको संरक्षणमा ठोस योजना ल्याएर संरक्षण गर्नुपर्नेमा जोड दिए ।
स्थानीय तहको पहल
संघिय संरचना पछि बनेको स्थानीय तहले ऐतिहाँसिक तथा पुरातात्वीक महत्वका धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षणमा विशेष चासो देखाएको छ । जसअनुसार मूर्तिया मन्दीरको संरक्षण तथा व्यवस्थापनका लागि बरहथवा नगरपालिकाले विगत पाँच वर्षदेखि काम गरिरहेको बरहथवा नगरपालिका ९ का वडा अध्यक्ष लुईटेलले बताए । उनका अनुसार मन्दीरको व्यावस्थापन तथा सौन्दर्यकरणका लागि नगरपालिकाले वार्षिक रु तीन लाख,प्रदेश सरकारले रु ३० लाख र केन्द्रको पुरातत्व विभागले रु ६ करोड ३१ लाख रकम मन्दीरको व्यावस्थापन तथा सौन्दर्यकरणका लागि उपलब्ध गराएको हो । जसबाट मन्दीरको निर्माण,मन्दीरमा गजुर चढाउने र मन्दीरको कम्पाण्डवाल समेत निर्माण भएको समितिका अध्यक्ष महतोले बताउनुभयो । विशेषगरि शिवरात्रीको अवसरमार भक्तजनहरु मेला लाग्ने र सोही मेलाका लागि मन्दीरलाई विशेष रुपमा सिंगारीएको मन्दीर व्यवस्थापन समितिले जनाएको छ ।
स्थानीय तहको पहिचानको रुपमा रहेको यस मन्दीरको संरक्षणका लागि स्थानीय तहले प्रदेश सरकारको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयर संघको नागरिक उड्यान तथा पर्यटन मन्त्रालयका साथै पुरातत्व विभागमा पनि जानकारी गराएको र पुरातत्व विभागले पनि स्थलगत सर्वेसमेत गरि सकेको बरहथवा नगरपालिकाकी प्रमुख कटुवालले बताइन् ।