स्टाटस ड्राफ गरेर फेशबुकमा हाल्न हलि प्रयोग गर्दै प्रतिनिधि सभा सदस्य दाहाल

1.3k Shares

नेकपा(माओवादी केन्द्र) सिन्धुलीको पार्टी कार्यालय भवन निर्माणको  नाममा संकलन भएको रकम सार्वजनिक गर्न माग गर्दा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले आफ्ना कार्यकर्ताहरु मार्फत सामाजिक सञ्जालमा विभिन्न किसिमका फण्डा अपनाउन थालेका छन् ।कमलामाई नगरपालिका ६ स्थित २ नम्बर बजारको भगवती बोर्डिङ स्कुल अगाडि १२ धुर जग्गामा आलिसान महल निर्माण भएको र त्यसका लागि करिब एक हजार सहयोगी दाताले न्युनतम रु १० हजार देखि अधिकतम् रु पाँच लाख सम्म सहयोग गरेका भएपनि भवन निर्माणको क्रममा संकलन भएको रकम र खर्च विवरण सार्वजनिक नभएपछि सहयोगी दाताहरुका साथै पार्टी भित्रैका कार्यकर्ताहरुबाट सो सावर्जनिक गर्न माग गर्दा प्रतिनिधि सभा सदस्य दाहाल आफैँले ड्राफ गरेर सामाजिक सञ्जालहरुमा अनावश्यक कुराहरु आफ्ना कार्यकर्ताहरु मार्फत राख्न लगाएका रहस्य बाहिरिएको छ ।यति सम्मकी माओवादी केन्द्र कमलामाई नगर कमिटिका सचिव चन्द्र गौतमलाई प्रतिनिधि सभा सदस्य दाहालले स्टाटस लेखेर पठाउने र उनले पोष्ट गर्ने गरेका केही प्रमाणहरु फेला परेका छन् ।

माओवादी केन्द्र सिन्धुलीमा पछिल्लो समय अन्तर कलह बढ्दै गइ रहेको समयमा प्रतिनिधि सभा सदस्य दाहालले आफ्ना कार्यकर्ताहरुलाई फेशबुकमा राख्ने स्टाटस समेत तयार गरेर पठाउने गर्दा सिन्धुलीको आन्तरीक विवाद झन चुलिँदै गएको माओवादी केन्द्र सिन्धुलीका एक नेताले बताए ।“वि.स. २०४६ मा तत्कालीन मोटो मशाल समर्थित विद्यार्थी संगठनबाट राजनीति शुरू गरेदेखि आजसम्म अनवरत अध्यक्ष कमरेड प्रचण्डको हेड क्वार्टरको वरिपरि गोलबन्द भइ आफ्नो भूमिका निर्वाह गर्दै आउनु भएको छ।न पार्टी फेर्नु भएको छ न त पार्टीलाई कमजोर पार्ने गुटवन्दी।”भन्ने सन्देश प्रतिनिधि सभा सदस्य दाहालले ड्राफ्ट गरेर माओवादी केन्द्र कमलामाई नगर कमिटि सचिव गौतमलाई  पठाएका र उनले पोष्ट गरेका पाइएको हो ।

उसो त प्रतिनिधि सभा सदस्य दाहालले पहिला देखि नै आफुलाई ज्यू हजुरी गर्ने र आफुले गरेका कमिकमजोरीहरुमा पनि आलोचना नगर्ने कार्यकर्तालाई आश्रय दिने र सुधारात्मक तरिकाबाट अगाडि जानु पर्छ भन्ने कार्यकर्ताहरुलाई पाखा लगाउन माहिर थिए भने अहिले उनले आफ्नो हलि हुने कार्यकर्तालाई संरक्षण गर्ने र अरु कार्यकर्ताहरुलाई विस्तारै पाखा लगाउने सोचमा लागेका समेत माओवादी केन्द्र सिन्धुलीका अर्काे नेताले बताए ।उनका अनुसार माओवादी केन्द्र सिन्धुलीका संयोजक पानीराज बम्जन र प्रतिनिधि सभा सदस्य दाहाल विचमा देखिएको आन्तरीक अन्तरद्धन्द्ध अहिले प्रतिनिधि सभा सदस्य दाहाल कै कारण सतही रुपमा देखिन थालेको हो ।

जसका कारण अहिले प्रतिनिधि सभा सदस्य दाहाल समुह र महेश्वर दाहाल एवम हरिबोल गजुरेल समुहको अन्तर कलह सडकमै छताछुल्ल हुन थालेको छ।माओवादी केन्द्रले “घरघरमा माओवादी,जनजनमा माओवादी”भन्ने मुल नाराका साथ सञ्चालन गरेको चार महिने “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान”देखि सुरु भएको अनतरकलह अहिले जनताले नै थाहा पाउने गरी सतहमा छताछुल्ल भएको छ ।प्रतिनिधि सभा सदस्य दाहालको अराजक प्रवृतिलाई लक्षित गर्दै पार्टीलाई विधी पद्धतिमा सञ्चालन गर्नुपर्ने माग राखेर नेताकार्यकर्ताहरुका साथै स्थानीय स्तरका पार्टी कमिटिहरुले लिखित रुपमै पार्टीका शिर्ष नेताहरुको ध्यानाकर्षण समेत गराएका छन् ।जसबाट पनि प्रतिनिधि सभा सदस्य दाहाल समुह र महेश्वर एवम हरिबोल समुहको अन्तर कलह सडकमै छताछुल्ल हुन थालेको हो ।


माओवादी केन्द्र सिन्धुली पार्टी अराजक बन्दै गईरहेको तथा विधी र पद्धति बाहिर गएर आफ्नो स्वार्थ अनुकुल पार्टीलाई दुरुपयोग गरेको र पार्टीको नाममा श्रोत साधन कब्जा गर्दै व्यक्ति पुजामा प्रयोग गर्दै लगेको भन्दै प्रतिनिधि सभा सदस्य दाहालको माओवादी केन्द्र सिन्धुलीका कार्यकर्ताहरुले आलोचना समेत गरेका छन् ।पार्टीको तल्ला कमिटिहरुमा विस्तारै आफ्नो प्रभाव अन्त्य हुँदै गईरहेको र आफु घेराबन्दीमा परेको महसुस गर्दै आफ्ना पक्षका नेता,कार्यकर्ताहरुलाई गजुरेल र महेश्वरका बिरुद्ध अभिव्यक्ति दिन तथा उस्तै परे भिडन्तमै उत्रन समेत प्रतिनिधि सभा सदस्य दाहालले तयारी गरिरहेका समेत माओवादी केन्द्र सिन्धुली स्रोतले जनाएको छ ।
अभियानको लागि प्रतिनिधि सभा सदस्य दाहालको कार्यक्षेत्र काठमाडौँ तारकेश्वर नगरपालिका रहेको भएपनि सधै जसो उनी सिन्धुली मै रहेर आफ्नो अस्तीत्व रक्षाको लागी क्रियाशिल देखिएका र अभियानको नेतृत्व गर्न सिन्धुली इन्चार्जको जिम्मेवारी लिएर आएका पुराना निष्ठावान नेता महेश्वरले सार्वजनिक रुपमै सिन्धुलीमा माओवादी केन्द्रको आन्दोलन पुरै विघटनको अवस्थामा रहेको उल्लेख गर्नुले प्रतिनिधि सभा सदस्य दाहाल सिन्धुलीबाट बढारिने अवस्थामा पुगेका हुन भन्ने संकेत गरेको माओवादी केन्द्रका अर्का नेताले बताए।
महेश्वरले सार्वजनिक रुपमै आफ्नो विचार राख्दै नयाँ ढंगले पार्टी पुनर्गठनको जरुरी रहेको बताएका थिए ।उनले सिन्धुलीमा प्रतिनिधि सभा सदस्य दाहालले पार्टीका इमान्दार कार्यकर्ताहरुलाई लखेट्ने तथा जिम्मेवार बिहिन बनाएर राखेको र पार्टीलाई विघटन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)लाई रिर्पोटिङ गरेका थिए । त्यसपछि प्रतिनिधि सभा सदस्य दाहालले आफ्ना नेताकार्यकर्ताहरुलाई स्टाटस ड्राफ्ट गरेर पठाएर पोष्ट गर्न लगाएका पाइएको हो ।
प्रतिनिधि सभा सदस्य दाहाल पक्षले अभियानको क्रममा जिल्ला इन्चार्ज भएर आएका महेश्वरलाई सार्वजनिक रुपमै कालोमोसो दल्ने चेतावनी समेत दिएका थिए ।नेताहरुबीचको अन्तर विरोधका कारण माओवादी केन्द्र सिन्धुलीका इमान्दार नेता कार्यकर्ताहरु भने निराश बन्दै गईरहेका छन्।“पार्टी यहि तरिकाले चल्ने हो भने सकिन्छ,एउटै पार्टी भित्र नेताहरु बीच बोलचाल नहुने,एक अर्कालाई सार्वजनिक रुपमै गालि गर्ने परम्पराले पार्टी बन्दैन ।”माओवादी केन्द्र सिन्धुलीका एक नेताले बताए ।माओवादी केन्द्रको आन्दोलनबाट आएका पुराना नेताहरु प्रतिनिधि सभा सदस्य दाहालको बिरुद्ध खुलेरै लागेका छन् भने नयाँ माओवादीहरु प्रतिनिधि सभा सदस्य दाहाललाई संरक्षण गर्न लागीरहेका छन्।सिन्धुलीका पुराना नेता गजुरेललाई पाखा लगाउदै संघीय निर्वाचनमा प्रतिनिधि सभा सदस्य दाहालले टिकट लिएसँगै गजुरेल रुष्ट बनेका थिए ।

सम्बन्धित समाचार