Close This

प्रमुख प्रशासकीय अधिकृतद्धारा वडा अध्यक्षमाथी कुटपिट

रासस    प्रकाशित: २०७७-४-१० गते   ३४६ पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिका ३ का अध्यक्ष माथि कुटपिट गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।हरिपुर्वा नगरपालिका ३ धनकौलका  वडाध्यक्ष धर्मराज सिंह महतो माथि कुटपीट गर्ने सोही  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय  ,उहाँका भाई लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो । 
    वडाध्यक्ष महतोलाई बिहिवार साँझ गाउँमै एक समूहले कुटपीट गरी घाईते बनाएका थिए । कुटपिटबाट वडा अध्यक्ष   महतोको हात, छाती लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उहाँको जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रवार ललितपुरको धापाखेल स्थित सुमेरु अस्पताल लगिएको पीडितका परिवारजनले बताएका छन ।
      कुटपिटमा संलग्न लालबाबु र शैलेन्द्रलाई घटना भए कै  दिन पक्राउ गरेको र  प्रमुख प्रशासकीय अधिकृत यादवलाई सोधपुछका लागि भन्दै  शुक्रवार   पक्राउ गरिएको   प्रहरी उपरिक्षक पोख्रेलले बताउनु भयो ।
    केही दिन पहिले गाउँमा लागेको धार्मिक मेला घुम्ने क्रममा  वडाध्यक्ष महतो नजिककी आफ्नै  नातेदार एक युवतीलाई प्रमुख प्रशासकीय अधिकृत राय निकटाका केही युवाहरुले जिस्काएको निहुँमा उनीहरु बीच विवाद हुँदै आएको र  सोही विषयलाई लिएर वडाध्यक्ष महतोमाथि कुटपीट भएको हुन सक्ने स्थानीयबासीहरुले आशंका गरेका छन्  ।
     वडाध्यक्षका परिवारले शुक्रवार प्रमुख प्रशासकीय अधिकृत यादव सहित अन्य चारजना विरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा   ज्यान मार्ने उद्योगमा  किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech