Close This

मिटरब्याजी पीडितहरुको धर्ना नौ दिनपछि स्थगित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१५ गते   १९० पटक हेरिएको

शंखर पहाडी(गौरब)


सर्लाहीका मिटरब्याजी पीडितहरुले नौ दिनपछि धर्ना स्थगित गरेका छन् । सर्लाहीका मिटरब्याजी पीडितहरुले मिटरब्याजी साहुले ठगी गरी उठिवास लगाएको भन्दै उनीहरुलाई पक्राउ गरी कारवाही गर्न,आफ्नो घर तथा जग्गा जमिन फिर्ता गर्न र जाली तमसुक खारेज गर्न माग राख्दै फागुन ७ गतेदेखि लालबन्दी नगरपालिका १ नवलपुर चोकमा धर्ना दिएका थिए ।


सोमबार नवौँ दिनमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह,सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदी लगायत अन्य सुरक्षा अधिकारी,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायत धर्ना स्थलमै पुगेर मिटरब्याजी पीडितहरुलाई धर्नाका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । उनीहरुले आफूहरुको मागका सम्वन्धमा सम्वोधन र सहजीकरणको प्रतिवद्धता जनाएपछि आफुहरुले धर्नाको कार्यक्रम स्थगित गरेको मिटरब्याजी पीडित किसान मजदुर संघर्ष समिति सर्लाहीकी अध्यक्ष रुक्मीणि चौधरीले जानकारी दिईन् ।


मिटरब्याजी साहुले ऋण लिँदा बनाएको कपाली तमसुककै आधारमा अदालतमा मुद्दा हालेर घर तथा जग्गा जमिन आफ्नो नाममा गर्ने सम्मको अन्याय गरेपछि पीडितहरु रुवाबासी गर्दै लालबन्दी नगरपालिका १ नवलपुर चोकमा धर्नामा बसेका थिए । जिल्ला स्तरबाट प्रतिवद्धता आएपछि मिटरब्याजी पीडितहरुले न्याय पाउने आश व्यक्त गरेका मिटरब्याजी विरुद्धका अभियन्ता एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले बताए ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले केही दिनअघि मात्रै मिटरब्याजी पीडितको चार ४३ वटा फाइल जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । उनका अनुसार ती फाइल विभिन्न इलाका प्रहरी कार्यालयमा पठाइ त्यहाँ पीडित भनिएका व्यक्ति र साहुबीच छलफल गराइ समस्या समाधानका लागि पहल गर्न निर्देशन दिइएको छ ।
त्यसका लागि प्रहरीलाई एक महिनाको समय दिइएको छ । एक महिनाभित्र पनि समस्या समाधान नभए थप अनुसन्धान गरी दोषी देखिएका मिटरब्याजी विरुद्ध ठगी मुद्दा चलाइने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । मिटरब्याजीको सम्वन्धमा कानून नै नरहेकाले दोषी देखाइएका व्यक्तिमाथि कारवाही चलाइ हाल्न पनि समस्या रहेको भन्दै जिल्लाको सुरक्षा संयन्त्र पच्छिने गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रहरीमा पठाइएको चार ४३ वटा निवेदनमध्ये सबैभन्दा धेरै अर्थात् ९२ वटा श्यामकृष्ण साह(श्याम परदेशी)को रहेको छ ।


खुँन्खार मिटरब्याजी श्याम परदेशी अहिले पूर्पक्षमा रौतहटको गौर कारगारमा छन् । यस्तै, रामबाबु रायविरुद्ध ३५,सञ्जय साह रौनियार विरुद्ध २० र सञ्जयका भाई उमाशंकर साहविरुद्ध चारवटासहित अन्य मिटरब्याजी विरुद्धको उजुरी प्रहरीमा पठाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । श्याम परदेशीबाहेक अन्य मिटरब्याजी अहिले फरार रहेका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले २१ वटा निवेदनको पछ्यौट भइसकेको र ४२ वटा प्रक्रियामा रहेको जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech