बलात्कार आरोपी वडाअध्यक्ष श्रेष्ठलाई पक्राउ गर्न माग गर्दै निजगढमा प्रदर्शन,प्रहरी मुग्धदर्शक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-११ गते   ३५२ पटक हेरिएको

बाराको निजगढमा बलात्कारको आरोप लागेका वडाध्यक्षलाई पक्राउ गर्न माग गर्दै स्थानीयले निरन्तर प्रदर्शन गरेका छन् । पूर्व पश्चिम लाेकमार्ग स्थित निजगढ बजारमा उनिहरुले प्रदर्शन गरेका हुन । पीडित पक्षकाे आन्दाेलनका कारण पुर्व पश्चिम लाेकमार्गमा केही समय सवारी आवागमन समेत अवरुद्ध  गरेका थिए ।
निजगढ नगरपालिका २ का वडाध्यक्ष राजन श्रेष्ठ(राजु)विरुद्ध १५ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । किशोरीका अभिभावकले असोज २५ मा इलाका प्रहरी कार्यलय निजगढमा वडा अध्यक्ष श्रेष्ठ विरुद्ध किटानी जाहेरी समेत दिएका थिए।
दशैंको टीकाका दिन असोज १९ मा अध्यक्ष श्रेष्ठले किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । घटनापछि वडा अध्यक्ष श्रेष्ठ फरार भएका छन्।
श्रेष्ठलाई पक्राउ गर्न प्रहरीले तदारूकता नदेखाएको महिला अधिकारकर्मीहरुको आराेप छ । दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने,किशोरीका परिवारलाई वडा अध्यक्ष श्रेष्ठका आफन्तहरुले मानसिक तनाव दिने गरेकाले संरक्षण र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माग उनीहरुले राखेका हुन ।
जिल्ला प्रहरी कार्यालय बाराले भने जाहेरी परे लगत्तै घटनास्थल जाँच मुचुल्का,किशोरीको स्वास्थ्य परीक्षण गर्ने,बयान लिने लगायतका कानुनी प्रक्रियाहरु पूरा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हाेमिन्द्र बाेगटीले बताए  । उनका अनुसार आरोपी वडा अध्यक्ष श्रेष्ठलाई खोज्न विशेष टोली नै परिचालन गरिएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech