सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख सहित ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगर प्रमुख मनोज कुमार देवकोटा सहित ५८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि ईश्वरपुर नगरपालिका ७२ घण्टाका लागि सिल गरिएको छ ।
नगरपालिकाका नगर प्रमुख,कर्मचारी,जनप्रतिनिधिहरु,नगर क्षेत्रभित्रका विभिन्न बैंक तथा बित्तिय संस्थाका कर्मचारी तथा नगर भित्रका व्यापारी÷व्यावसायीहरूमा संक्रमण देखिए पछि नगरपालिका तीनदिनका लागि सिल गरिएको नगर उप प्रमुख एकावतीदेवी चौधरीले जानकारी दिनु भयो ।
गत जेठ ६ गते ईश्वरपुर नगरपालिका ७ मा रहेको बर्थिङ सेन्टरमा १ सय २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला जनकपुर पठाइएकोमा ईश्वरपुर नगरपालिकाका नगरप्रमुख देवकोटा सहित ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नगर प्रमुख देवकोटा सहित नगरपालिकाका कर्मचारी,जनप्रतिनिधिहरु,नगर क्षेत्रभित्रका विभिन्न बैंक तथा बित्तिय संस्थाका कर्मचारी तथा व्यापारी÷व्यावसायीहरूमा संक्रमण देखिएको नगर स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महत्तोले बताउनुभयो ।
साथै नगरपालिकाले थप संक्रमण फैलिन नदिन ईश्वरपुर नगरपालिकालाई जेठ ११, देखि १३ गतेसम्म ७२ घण्टा सिल गर्ने निर्णय गरेको नगर प्रमुख देवकोटाले बताउनु भयो ।