आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति भएको छ। नेपाल शिक्षक महासंघ र शिक्षामन्त्री रघुजी पन्त बिच नौ बुँदे सहमति भएको हो।सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएका हुन् । शिक्षक र सरकार विच भएको सहमति कार्यान्वयन गर्न रु आठ अर्ब थप दायित्व थपिएको शिक्षामन्त्री पन्तले बताए।बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालय र शिक्षकहरूबिच भएको नौ बुँदे सहमतिलाई स्वीकार गरेको र विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने विषयमा सहमति भएको छ ।

के के भयो सहमति?
१)शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२)अस्थायी प्रकृतिका शिक्षक–राहत,अस्थायी, साबिक उमावि,सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।
३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।
४) आगामी आर्थिक वर्ष २०८२–८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय प्राथमिक द्वितीय निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार, साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।

केके थिए शिक्षकहरुका मागहरु
१.राहत,करार र अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी
२.स्थायी हुँदा अस्थायीको सेवा अवधि जोड्ने, नहुनेलाई गोल्डेन हेन्डसेक
३.विद्यालय कर्मचारीको तह तोकेर शिक्षक सेवा आयोगबाट स्थायी गर्ने
४.बाल कोटाका शिक्षकलाई दरबन्दीमा परिणत गरी स्थायी प्रक्रिया थाल्ने
५.स्थायी शिक्षकको १० वर्षमा तहगत बढुवा, निजामती सरह तलब र ग्रेड
६.प्राविबाट निमावि हुँदै मावि शिक्षक बन्न आन्तरिक प्रतिस्पर्धामा कोटा
७.द्वन्द्वपीडित र शिक्षक नेताको टुटेको अवधि गणना गरी उपदान वा पेन्सन
८.निजी स्कुलका शिक्षकको तलब सामुदायिक सरह, सामाजिक सुरक्षा को
९.प्रधानाध्यापकको छुट्टै दरबन्दी, स्थायी शिक्षकबीच प्रतिस्पर्धाबाट नियुक्ति
१०.शिक्षण काउन्सिल स्थापना, राज्यको मर्यादाक्रममा शिक्षकको पनि तोक्ने
११.शिक्षक नियुक्ति, सरुवा, कासमु, कारबाहीको अधिकार स्थानीय तहलाई नदिने
१२.सबै तहका सरकारको शैक्षिक प्रशासनका पदहरूमा शिक्षण पेसाबाट लैजाने

प्रस्तावित विद्यालय शिक्षा विधेयकमा छुट्न नहुने मूलभूत विषयहरु
क) नेपालको संविधान अनुसारको निःशुल्क र समावेशी शिक्षाको सुनिश्चितता,
ख) नेपाल सरकारसँग विगतमा पटक(पटक गरेका सहमतिहरूको कार्यान्वयनमा सुनिश्चितता,
ग) गुणस्तरीय शिक्षाका लागि शिक्षामा पर्याप्त लगानीको सुनिश्चितता,
घ) स्थानीय तहमा पेशागत हक, शिक्षकको संरक्षण, अधिकार र टूेड युनियन
ङ) संविधानसम्मत अधिकारहरूको प्रत्याभूति,
च) निजी विद्यालय र सामुदायिक विद्यालयका निजी शिक्षकहरूको सार्वजनिक विद्यालय सरह सेवा सुविधाको सुनिश्चितता,
छ) शिक्षा ऐन लागू हुनुभन्दा पहिला नियुक्त शिक्षकहरूको पेन्सन साबिककै नियम अनुसारको व्यवस्था गर्ने,
ज) विद्यालय शिक्षालाई तिनै तहको सरकारको साझा दायित्वभित्र राख्ने।
झ) विद्यालय भित्र कार्यरत सबै प्रकृतिका (राहत अनुदान शिक्षक, बाविके शिक्षक,विद्यालय कर्मचारी, साविक उमावि,प्राविधिक धार शिक्षक, करार शिक्षक,संघीय र प्रदेश अनुदान शिक्षक आदि)पेसाकर्मीहरूको पूर्ण संरक्षण,
(ञ) नेपाल शिक्षक महासंघलाई शिक्षा ऐनमा नेपालका प्रचलित श्रम कानुनहरूले दिएका ट्रेड युनियन अधिकार उपयोग गर्न पाउने व्यवस्था प्रस्तावित शिक्षा ऐनमा नै व्यवस्था गर्ने।
