सर्लाहीको हरिपुर नगरपालिका १ हजारबिघामा स्थित रहेको पाँच कुमार रामऔतार लक्षिया मा.वि.मा सामाजिक लेखा परीक्षण गरिएको छ ।सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा विद्यालयको सामाजिक लेखा परीक्षण सम्पन्न भएको विद्यालयका शिक्षक नवराज गौतमले जानकारी दिए ।
उनका अनुसार हरिपुर नगरपालिका १ का वडाध्यक्ष नानीबाबु थापा,हरिपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख नागेश्वर राय र जग्गादाता जर्गनाथ साहलगायतको आतिथ्यतामा सामाजिक लेखा परीक्षण सम्पन्न भएको हो ।सामाजिक लेखा परीक्षण कार्यक्रमको अवसरमा विद्यालयबाट नेपाली सेनाले प्रदान गरेको एनसीसी क्याडेट तालिममा सहभागी छात्राछात्रलाई सम्मान समेत गरिएको एनसीसी क्याडेट तालिमका समन्वयकर्ता शिक्षक टेकबहादुर थापाले जानकारी दिए ।
१० जिल्लाका १५ वटा विद्यालयहरुका विद्यार्थीहरुलाई गएको असार १४ गतेदेखि पुस २६ गतेसम्म मोरङको याङशीलामा तालिममा सञ्चालन भएको थियो ।सो तालिममा सहभागी भएका विद्यालयका विद्यार्थीमध्ये एस.यू.ओ तर्फ पाँच कुमार रामऔतार लक्षिया मा.वि.हजारबिघाका शिव यादव प्रथम भएका छन् भने,एनसिसी तालिममै भएको फुटबल प्रतियोगितामा पनि विद्यालय प्रथम भएको विद्यालयले जनाएको छ ।