पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरबाट प्रहरीले ठूलो परिमाणमा रासायनिक मल बरामद् गरेको छ।पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको जिल्ला टूाफिक प्रहरी कार्यालय नवलपुर,सर्लाही अगाडि खटिएको नेपाल प्रहरी र टूाफिक प्रहरीको संयुत्त टोलीले चेकजाँच गर्ने क्रममा नेपाल सरकारबाट अनुदानित रासायनिक मल (आपुर्तिकर्ता) इंडियन पोटाश लिमिटेड चेन्नाई लेखिएको दुई सय २० बोरा बरामद् भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार लालबन्दीबाट नवलपुर तर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १६०० नम्बरको ट्रकमा लोड गरीएको नेपाल सरकारबाट अनुदानित रासायनिक मल (आपुर्तिकर्ता) इंडियन पोटाश लिमिटेड चेन्नाई लेखिएको दुई सय २० बोरा बरामद् भएको हो ।कुनैपनि बिलबिजक नरहेको र शंकास्पद देखिएकाले आवश्यक अनुसन्धानको लागि बरामद् भएको रासायनिक मल सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया,बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

यता,सो सम्बन्धमा बुझ्न कृषि सामाग्री कम्पनी लिमिटेड जिल्ला शाखा नवलपुर सर्लाहीका प्रमुख ध्रुव साहलाई फोन गर्दा उनको फोन उठेन।कृषि सामाग्री कम्पनी लिमिटेड जिल्ला शाखा नवलपुर सर्लाहीले जिल्लाका करिब दुई सय वटा डिलहरु मार्फत रासायनिक मल वितरण गर्ने गरेको र त्यहाँ कालो बजारी हुनुका साथै कृतिम अभाव हुने गरेको चौतर्फी गुनासो आउने गरेको छ।सो विषयमा जिल्लाका सरोकारवाला निकायहरु बेखबर देखिएका छन् ।

त्यस्तै,अनुगमनको जिम्मा जिल्ला प्रशासन कार्यालय मलंगवा, सर्लाहीलाई मात्रै नभएकाले स्थानीय तहहरुले पनि अनुगमन गर्नुपर्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।उनले जिल्लामा सोचे जती अनुगमन गर्न नपाएको भएपनि गुनासोहरु आएका ठाउँहरुमा तत्कालै अनुगमन गरिएको समेत बताए ।