सर्लाहीको लालबन्दी र हरिवन नगरपालिकाले लालबन्दी बजार र हरिवन बजार स्थित पूर्व–पश्चिम लोकमार्गको ७५ फिट खाली गराउन सुरु गरेका छन् । लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी र हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) ले लोकमार्गमा ७५ फिटभित्रको अतिक्रमण खाली गराउन सुरु गरिएको जानकारी दिनुभयो ।
लालबन्दी र हरिवन नगरपालिकाले लालबन्दी बजार र हरिवन बजार स्थित पूर्व–पश्चिम लोकमार्गको ७५ फिट भित्र रहेका तरकारी तथा फलफुलका ठेलागाढा,अटो,रिक्सा,मयुरी,म्याजिक,भाडाका सवारी साधनलगायत बजारको व्यवस्थापन र अतिक्रमण हटाउने कार्यको सुरुवात गरिएको हो ।

अतिक्रमण गरी बनाइएका संरचना भत्काइ ७५ फिट कायम गर्न दुवै नगरपालिकाले डोजर प्रयोग गर्न थालेका छन् । लालबन्दी बजार र हरिवन बजार क्षेत्रमा ७५ फिट भित्र रहेका तरकारी तथा फलफुलका ठेलागाढा,अटो,रिक्सा,मयुरी,म्याजिक,भाडाका सवारी साधनलगायतले बजारको सुन्दरतामा कुरुपता ल्याउनुका साथै सवारी दुर्घटनाको जोखिम बढीरहेको समयमा दुवै नगरपालिकाले आफ्नो बजार क्षेत्रको ७५ फिट भित्रको सडक अतिक्रमण हटाउन थालेका हुन । ७५ फिट भित्रको सडक अतिक्रमण हटाउन लालबन्दी नगरपालिकाका नगर प्रमुख र हरिवन नगरपालिकाका नगरप्रमुख बुढाथोकी आफैँ सडकमा उत्रिएका छन् । निकै चुनौतीको रुपमा हेरिएको हाइवे अतिक्रमण हटाउने विषयमा नगरपालिकासंयमित भएर काम सुरु गरेका हुन ।
त्यस्तै,जिल्लामा अन्य स्थानिय निकायहरुले पनि लोकमार्गको अतिक्रमण खाली गर्न धमाधम सूचना जारी गरिरहेका छन् । जिल्लाको हरिपुर नगरपालिकाले पनि नवलपुर–मलङ्गवा सडक खण्डअन्तर्गत हरिपुर बजार क्षेत्रको अतिक्रमण हटाउने तयारी गरिरहेको नगरप्रमुख गोपाल पंजियारले जानकारी दिनु भयो ।