महोतरीको सोनमा गाउँपालिका–५ खयरबनी चोकबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहारस्थित सितामढी जयनगर ग्रामपंचायत–११ बस्ने अन्दाजी २४ वर्षीय बलबिन्द्र महतोलाई बुधबार बेलुका कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।
उनका अनुसार महतोको साथबाट पेस्तोलसहित १ राउण्ड गोली,२ थान किला उक्काउने रड,१ थान पेचकस र एउटा मोटरसाइकल बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको प्रहरीको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा बिआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा महतोलाई पक्राउ गरिएको महोतरी प्रहरीले जनाएको छ ।उनीसंगै आएको अर्काे बिआर ५५ ए २७२५ नम्बरको मोटरसाइकल चालक भने फरार भएका प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको महोतरी प्रहरीले जनाइएको छ ।