पूर्व पश्चीम महेन्द्र राजमार्गको स्तरोउन्नतीको काम सुस्त गतिमा भएको छ।२०८४ पुस १६ गते सम्म स्तरोउन्नतीको काम सकाउने गरी विभिन्न तीन खण्ड बनाएर धनुषाको कमला खोलादेखि सर्लाहीको बागमती खोला सम्म ठेक्का लागेको करिब ७७ दशमलव ७९ किलो मिटर पूर्व पश्चीम महेन्द्र राजमार्गको स्तरोउन्नतीको काम सुस्त गतिमा भएको हो ।

कमला खोलादेखि जमुनीवास सम्मको २५ दशमलव सात किलो मिटर खण्डको भारतको केरलाको इकेके इन्फ्राक्चर प्रा.लिले,जमुनीबास देखि बागमती खोला सम्मको ५२ दशमलव ६९ किलो मिटर सडक खण्डको चिनको एएसडब्लुइजी कम्पनी र नेपालको रसुवा कन्ट्रक्सन प्रा.लिले रु १८ अर्ब ९५ करोडमा ठेकधारमा हाल सम्म ४२ प्रतिशत काम सकिनु पर्नेमा २३ दशमलव नौ प्रतिशत मात्रै काम भएको कमला–ढल्केवर–बागमती सडक आयोजना कार्यालय बर्दिवासका प्रमुख राजेश दासले जानकारी दिए ।
उनका अनुसार साना–ठूला गरी ३८ वटा पुल र एक सय एक वटा कलभर्ट निर्माण गर्नुपर्ने उक्त खण्डमा रुख हटाउने,विजुलीका तारपोल हटाउने,विभिन्न केवलहरुका ताल हटाउने तथा अतिक्रमण खाली गराउने सवालमा सरोकारवाला निकायको सुस्तताका कारण सडकको स्तरोउन्नतीको काम प्रभावित भएको हो ।

यसका साथै इन्धनको मुल्य बृद्धि हुँदा निर्माण सामाग्रीहरुको पनि मुल्य बृद्धि भएको साथै विभिन्न स्थानमा स्थानीयबाट सडकको स्तरोउन्नतीको काममा अवरोध सृजना भएको आयोजनाले जनाएको छ।आयोजनाका अनुसार ठेक्का सकार भएर काम सुरु भएको समयावधिका आधारमा १९ प्रतिशत कम काम हुँदा निर्धारीत समयमा निर्माण कम्पनीले काम सकाउन नसक्ने अवस्था सृजना भएको छ ।

२६ अर्ब ८२ करोड अनुमानित लागत रहेको उक्त सडकको ९३ प्रतिशत विश्व बैँक र सात प्रतिशत नेपाल सरकारको लागतमा सडकको स्तरोउन्नतीको काम भई रहेकोमा हाल सम्म निर्माण कम्पनीले करिब १८ प्रतिशत मात्रै भुक्तानी लिएको छ ।
धनुषा क्षेत्रमा एक सय १७ वटा रुख काट्नु पर्नेमा सरोकारवाला निकायको सुस्तताका कारण सो कार्य हुन नसकेको साथै अन्यन्त्र काटिएका रुखहरुपनि वन कार्यालयले नउठाउँदा कुहीने अवस्थामा पुगि सकेका आयोजनाले जनाएको छ।यसका साथै अतिक्रमण गरी बनाईएका संरचना हटाउन समन्वयात्मक सहयोग गर्नु पर्नेमा केही स्थानिय तहहरुले आफ्नो क्षेत्रमा काम गर्नु नपर्ने भन्दै परिपत्र नै गरेका छन् ।जसका कारण पनि सोचे अनुसार काम गर्न नपाएको आयोजनाको गुनासो छ ।निर्माण कार्य सुस्त गतिमा हुँदा एसियन हाइवे “एम्बुस–वे”को रुपमा चर्चामा आउन थालेको छ ।

राजमार्ग एउटा,तर नाम अनेक।कहिले के,कहिले के।नाम फेरिएको फेरियै छ,तर राजमार्ग “एम्बुस–वे”मा रूपान्तरण भएको छ।यो सडकको बिर्सिनै नहुने अर्को पाटो पनि छ।त्यो हो— नामजस्तै यो राजमार्गको रूप पनि फेरिइराख्छ।कहिले हिलाम्मे त कहिले धुलाम्य।अनि यो डाइभर्स नै डाइभर्सनको राजमार्ग हो भन्दा पनि फरक पर्दैन।छोटो दुरी पार गर्न लामो समय लाग्छ।कहिले धुलोले पुर्छ,कहिले हिलोमा गाडिनुपर्छ।अर्को लुगाको जोगाड नगरी हिँडियो भने आइलाग्ने आपत् भनिसाध्य छैन।तर,सडकको निर्माण सुस्त गतिमा छ।सामान्य घर निर्माणमा खटेजति मजदुर पनि खट्दैनन् ।
यात्रु र स्थानीयले यो सास्ती बेहोरेको करिब डेढ वर्ष हुन लाग्यो,अझै कति समय कुर्नुपर्ने हो, कुनै ग्यारेन्टी छैन।रकेट गतिमा काम गर्ने डंका पिटेको सरकार र निर्माण व्यवसायीले तीन वर्षमा सडक निर्माण गरिसक्ने बताएको थियो ।यो सरकारी निर्लज्जताको परिणाम भएको भुक्तभोगीहरू बताउँछन्।महेन्द्र राजमार्गको महोत्तरीको रातुखोला देखि सर्लाहीको बागमती सम्मको खण्डमा झन डाइभर्स नै डाइभर्सन छन् ।
निर्माण कम्पनी अहिले सडक निर्माणलाई गति दिनुको सट्टा इन्धन र कच्चा पदार्थको अभाव देखाइरहेको छ।काममा ढिलासुस्ती छ।“बिहान एकातिर भएको बाटो एकछिनमा अर्कैतिर पुग्छ” स्थानीय बताउँछन्।बाटो बराला भएको छ,कहिले उत्तर सर्छ,कहिले दक्षिण सर्छ।”
पानी पर्नासाथ सडक अवरुद्ध हुन्छ।सवारीसाधन बीच सडकमै फस्छन्।निकाल्न जेसिबी चाहिन्छ।महोत्तरीको बर्दिवासदेखि सर्लाहीको बागमती सम्मको सडक खण्डको करिब तीन दर्जन स्थानमा डाइभर्स नै डाइभर्सन भएकाले सवारीसाधन अवरुद्ध हुने गरेकोे यातायात व्यवसायीहरु बताउछन् ।
“कल्भर्ट र पुल निर्माण गर्नुपर्ने स्थानमा त सवारी कटाउन हरदम सास्ती हुन्छ।”ओभरपास र अन्डरपास निर्माण गर्नुपर्ने स्थानको अवस्था पनि जोखिमपूर्ण रहेको सवारी चालक र कर्मचारी बताउँछन्।निर्माणाधीन यो राजमार्गमा विशेष गरी हात्ती र अन्य साना वन्यजन्तुका लागि ओभरपास र अन्डरपास दुवैको अवधारणामा काम भइरहेको छ।तर,कामको गतिले लय लिन सकेको छैन।धनुषाको विरेन्द्र बजार,सर्लाहीको लालबन्दी,हरिवन र नयाँ रोडमा गरी चार स्थानमा आकाशे पुल निर्माण गरिने भएपनि सो कार्य सुरु नै भएको छैन् ।
यो मार्गमा निर्माण हुने साना–ठुला गरी ३८ वटा पुलहरु सबै आधुनिक रहने बताइए पनि अहिलेसम्म एउटा पनि पूर्ण भएको छैन।यो हाइवेअन्तर्गत महोत्तरीको रातुखोलादेखि सर्लाहीको बागमतीसम्मको सडक विस्तारको काम करिब डेढ वर्ष वर्षअघिदेखि भइरहेको छ।तीन वर्षभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि २४ प्रतिशत मात्रै काम भएको छ।
जसका कारण योजनाको काम समयमै सक्न चुनौती थपिएको निर्माण कम्पनीको दाबी छ । निर्माण सामग्री अभाव,इन्धन आपूर्तिमा असन्तुलन,संरचना स्थानान्तरणमा ढिलाइ र नीतिगत अन्योलका कारण लक्ष्यभन्दा निकै कम मात्र काम भएको छ।सामान्यतःनिर्माण आयोजनाको प्रगति मध्य चरणमा तीव्र गतिमा बढ्ने भए पनि अवस्था त्यसको विपरीत छ।औसतमा प्रतिमहिना चार प्रतिशत प्रगति हुनुपर्नेमा हालसम्म जम्मा करिब डेढ वर्षमा करिब २४ प्रतिशत मात्र काम भएको छ।यसले यो आयोजनाको काम सुस्त गतिमा भएको प्रष्ट हुन्छ।
राजमार्ग निर्माणमा ढिलाइ हुँदा अहिले सर्वसाधारणले सास्ती बेहोर्न बाध्य छन्।कहिले धुलोको पिर त कहिले हिलोको।थोरै पानी पर्दासमेत सडक हिलाम्मे हुँदा स्थानीयले हैरानी खेप्दै आएका छन्।“यात्रा साँच्चै कष्टकर हुन्छ।घरबाट नियमित बाहिर कामममा निस्कनु पर्दा धुलोका कारण बिरामी नै हुनु परेको छ।”स्थानीय बताउँछन् ।गाडीको हल्लाई र धुलोले गत स्वास्थ्य समस्या देखिने गरेको छ ।
काम सुस्त हुँदा आफूहरू करिब डेढ वर्षदेखि विभिन्न खाले समस्याको सामना गर्न बाध्य भएको स्थानीयको भनाई छ।“कामको गति हेर्दा लाग्छ तीन वर्ष त के थप तीन वर्षमा पनि पार लाग्ला जस्तो छैन,यही ताल हो भने यो सडक एक दशकमा पनि बनिसक्दैन।सडक आसपासका बासिन्दाको त बिजोग नै भएको छ ।”लालबन्दीकी प्रमिला साहले बताईन्।सडक निर्माणबारे बेलाबेलामा फेरिइरहने नीतिले पनि समस्या जटिल बनाएको उनको बुझाइ छ ।
भौतिक संरचना स्थानान्तरणमा भएको ढिलाइले कतिपय खण्डमा काम सुरु नै हुन सकेको छैन ।जिम्मेवार निकायसँग समन्वय भइरहे पनि प्रक्रिया जटिल हुँदा समय लागेको आयोजनाले बताएको छ।यो आयोजना विभिन्न खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ।यीमध्ये केही खण्डको प्रगति सन्तोषजनक छ।कतैको काम अत्यन्तै सुस्त छ ।विवाद कम भएका खण्डमा काम धमाधम भएको र समयमै साइट क्लियर हुँदा राम्रो प्रगति भएको हो।
सडकसँगै निर्माण भइरहेका पुलहरूको प्रगति भने केही राम्रो देखिएको छ । आयोजनामा देखिएका समस्या स्थानीय मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थासँग पनि जोडिएका छन् ।निर्माण सामाग्री संकलनमा देखिएको ढिलाइ,वातावरणीय स्वीकृति,उत्खनन अनुमति लगायतका कारण सडक निर्माण प्रभावित भएको छ।जानकारहरूका अनुसार यस्ता ठुला पूर्वाधार निर्माणमा बहुनिकाय समन्वय अत्यावश्यक हुन्छ तर,नेपालमा यस्ता परियोजनाहरूमा आवश्यक समन्वय नै हुन सक्दैन।
जुन नेपालको गम्भीर समस्या हो।यो समस्याबाट कमला–ढल्केबर–बागमती सडक पनि अछुतो छैन।आफूहरू समस्या समाधानमा लागिपरेको आयोजनाले जनाएको छ।निर्माण सामाग्री आयात र इन्धन आपूर्ति सहज बनाउन सम्बन्धित मन्त्रालय र निकायलाई पहिला नै पत्राचार गरिसकिएको उनले जानकारी दिए।अहिलेको समस्या सुल्झिने हो भने सडक निर्माणले गति लिने उनको भनाइ छ।अहिलेको जस्तै ढिलासुस्ती केही समय कायम रहे निर्धारित समयमा आयोजना सम्पन्न नहुने पक्का छ।जसले दुर्घटना,आवागमनमा जटिलता थपिनेछ।व्यापार, व्यवसायमा गिरावट आउनेछ।धुलो,हिलो,ट्राफिक व्यवस्थापनमा ठुलो समस्या निम्तिने निश्चित जस्तै छ ।यो राजमार्गको स्तरोउन्नती भएपछि एसियाका धेरै राष्ट्रसँग सीधा सडक सम्बन्ध स्थापित हुनेछ ।