विपदमा देशभर ४९ जनाको मृत्यु,४० जना बेपत्ता,बाढी पहिरोका कारण ६३ स्थानमा सडक अवरुद्ध

367 Shares

दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर ४९ जनाको मृत्यु भएको छ।त्यसमध्ये उपत्यकाका भक्तपुर,ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका नेपाल प्रहरी प्रधान कार्यालयका सह प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

उनका अनुसार विपद्का घटनामा परेर ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन्।देशभरिमा ६३ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएको र सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको नेपाल प्रहरी प्रधान कार्यालयका सह प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए ।
अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।सडक विभाग कार्यालयले शनिबार साँझ सम्म संकलन गरेको प्रारम्भिक विवरण अनुसार बाढी पहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडक खण्डमा यातायात आवागमन प्रभावित भएको छ ।
विभागको प्रारम्भिक विवरण अनुसार २३ वटा बाटोका ६३ स्थानमा यातायात अवरुद्ध भएका छन् भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका छन् ।

badi-2.webp
ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न नसकेका साथै विद्युत् तथा इन्टरनेट सेवा समेत अवरुद्ध हुँदा सम्पर्क विच्छेद भएपछि सबै विवरण संकलन गर्न पनि नसकिएको विभागले जनाएको छ । “पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बाढीले बगाएको छ।अरनिको राजमार्गको लार्चाको बेलिब्रिज र बिपी राजमार्गको खुर्कोटबाट मन्थलीतर्फ जाने बाटोको पुल बाढी बगाएको छ।कुलेखानी जलविद्युत् आयोजनको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको छ।बिपी राजमार्गमा नेपालथोक भन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले करिब सय मिटर बाटो बगाएको छ ।अहिले काठमाडौँ उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेका छन् ।”सडक विभागले जनाएको छ ।
सिर्सिया–पथलैया–हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौँ खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द रहेको,पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध,धादिङको कमेरेमा पहिरो गएपछि उक्त सडक अवरुद्ध,अरनिको राजमार्ग अन्तर्गत काठमाडौँ–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको विभागको भनाई छ ।
त्यसैगरी,कालीगण्डकी करिडोर अन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारी,गुल्मीको राक्स्या र बरल्ला क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको,राप्ती राजमार्ग अन्तर्गत अमेलिया–शीतलपाटी–थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्रीमा पहिरो जाँदा सडक अवरुद्ध,सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक अवरुद्ध ,पुष्पलाल (मध्यपहाडि राजमार्ग) लोकमार्ग अन्तर्गत ओखलढुङ्गाको भडारे क्षेत्रमा पहिरो जाँदा सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ भने भेडेटार–रबि–राँके सडकअन्तर्गत पाँचथर जिल्लामा सडक अवरुद्ध छ ।
नुवाकोटको ठोरी–भण्ठारा–मलेखु–गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्ड अन्तर्गत घादिङको भुट्टार क्षेत्रमा तथा बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी खण्ड अन्तर्गत नुवाकोटको ३५ किलो र ताँदी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध,भेरी करिडोर अन्तर्गत छिन्चु–कुदु–जाजरकोट–दुनै–तिन्जे–मरिम सडक खण्डमा पश्चिम रुकुमको त्रिवेणीमा सडकमा पहिरो खसेको,मेची राजमार्ग अन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम–गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला खण्डमा पाँचथरको फिदिम नजिकै पहिरोका कारण सडक अवरुद्ध,सिरहाको माडर–चौराहवा–गोलबजार–सिरहा–साँघुरे–उदयपुर–मिचैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा सल्लेरी सडकखण्ड प्रभावित भएको र मिर्चैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा–सल्लेरी सडकमा पनि सवारीसाधन सञ्चालन हुने नसकेको विभागले जनाएको छ ।
सहिद मार्ग अन्तर्गत कोइलाबास–लमही–अर्जुनखोला–घोराही–घर्तिगाउँ–थवाङ–लुकुम खण्ड,रोल्पाको घर्तीगाउँ र दुई खोली खण्डको गरगरेमा पहिरो गएको जसका कारण रोल्पाको होलेरी र दारबोट खण्डमा पनि अवरोध सिर्जना भएको,अर्घाखाँचीको लौलिहवा–गोरुसिङे–सन्धिखर्क सडकअन्तर्गत नरपानी–खुम्ती–सन्धिखर्कमा पहिरो गएको, पुष्पलाल(मध्यपहाडि राजमार्ग) लोकमार्ग अन्तर्गत खोटाङको खोक्सेली तथा चिसापानी,सिन्धुलीको रिठ्ठाबोट,फिक्कल,ट्याँउ खोला र कुखुरेटार,हर्जेनी,बलेनी,सालघारीलगायत क्षेत्रमा बाढी र डुबानको समस्या,तमोर करिडोर अन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने बाटोमा तथा रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत खण्डअन्तर्गत दाङको मुर्कुटी भन्ने स्टानमा सडक पूर्ण रुपमा अवरुद्ध,डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको ताल डाँडा क्षेत्रमा पनि यातायात सञ्चालनमा समस्या भएको विभागले जनाएको छ ।
विभागका अनुसार कान्ती राजपथ अन्तर्गत हेटौँडा–बागमती–टिकाभैरव–भैँसेपाटी–एकान्त कुना सडक खण्ड पनि अवरुद्ध,ग्वार्को–लुभु–लाकुरी भञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार खण्डअन्तर्गत ललितपुरको लाँकुरीभञ्ज्याङस्थित मानेदोभान क्षेत्रमा बाढी र पहिरोका कारण समस्या,दक्षिणकाली नगरपालिका ८ को सिस्नेरी सडकखण्ड, किर्तीपुर नगरपालिका ६ को बल्खु फर्पिङ र किर्तीपुर नगरपालिका १० को त्रिभुवन विश्व विद्यालय सेवा आयोग अगाडि पहिरो खसेको र गोदावरी नगरपालिका ६ को लेले टिकाभैरव जाने बाटोमा पहिरो खसेको छ ।
नदीमा पुल बगाएको र ठूलो पहिरो खसेको स्थानमा बाहेक अन्य स्थानहरुमा अवरोध हटाउने गरी विभागको टोली परिचालन गरिएको साथै सडक सञ्चालन गर्न सबै सडक डिभिजन तथा मातहतका कार्यालयका टोली तयारी अवस्थामा रहेका विभागले जनाएको छ।अधिकांश स्थानमा लेदोसहितको बाढी पहिरो आउने जोखिम रहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा केही समस्या भएको पाइएको छ ।

सम्बन्धित समाचार