सरकारको निर्णयविरुद्ध उखु किसानहरु आन्दोलनको तयारीमा

458 Shares

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा उखु उत्पादनमा दिँदै आएको अनुदान कटौती गरेपछि देशभरका उखु किसानहरू आन्दोलित बनेका छन्।विगत ३० वर्षदेखि निरन्तर पाउँदै आएको अनुदान एकाएक खारेज गर्नु र चालु आर्थिक वर्षको करिब रु एक अर्ब ६० करोड बक्यौता रकम भुक्तानी नगर्नु उखु उत्पादक किसानहरु प्रति देखिएको सरकारी बेवास्ताको गम्भीर प्रमाण भएको भन्दै उखु उत्पादक किसानहरुले सरकारविरुद्ध सशक्त आन्दोलनको चेतावनी दिएका छन्।
सर्लाही,रौतहट,बारा,नवलपरासी,सुनसरी र मोरङलगायत जिल्लाका उखु उत्पादक किसानहरूको संयुक्त बैठकले श्यामबाबु रायको अध्यक्षतामा ३४ सदस्यीय“उखु किसान संघर्ष समिति”गठन गर्दै आन्दोलनको औपचारिक घोषणा गरेका छन्।सरकारको निर्णय किसानहरु विरोधी भएको भन्दै एकातिर चालु वर्षको अनुदान रकम रोकिनु र अर्कोतर्फ भविष्यको अनुदान नै कटौती गरेर सरकारले किसानहरुलाई निरुत्साहित पार्ने काम गरेको समितिका अध्यक्ष रायले बताए ।किसानहरूले सरकारसँग चालु आर्थिक वर्षको बाँकी रु एक अर्ब ६० करोड अनुदान तत्काल भुक्तानी गर्नु पर्ने र आगामी आर्थिक वर्षदेखि कटौती गरिएको किसानहरुको उखु अनुदानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।
चालु आर्थिक वर्षका लागि सरकारले प्रति क्विन्टल उखुको न्यूनतम समर्थन मूल्य रु छ सय ५५ तोकेको थियो,जसमा रु ७० अनुदान स्वरूप सरकारले उपलब्ध गराउने भनेको थियो।तर किसानहरूले अझैसम्म सरकारी अनुदान वापतको रकम नपाएको गुनासो गरेका छन्।किसान प्रतिनिधिमण्डलले कृषि तथा उद्योगमन्त्री सहित विभिन्न सांसदहरूलाई भेटेर आफ्नो पीडा सुनाइसकेको बताउँदै आगमी असार २० गतेभित्र प्रधानमन्त्रीसँग भेटेर ज्ञापनपत्र बुझाउने तयारी भइरहेको समितिका अध्यक्ष रायले बताए ।
उनका अनुसार वार्ताबाट माग सम्बोधन नभए देशभर कडा आन्दोलन गर्ने र किसानहरुको आन्दोलनले सरकारलाई घुँडा टेकाउन बाध्य पार्नेछ ।सरकारको निर्णयले उखु उत्पादक किसानहरूमा निराशा र असन्तोष जन्माएको छ।उत्पादनमै आधारित देशको आर्थिक नीति हुनुपर्नेमा किसानहरुको हक कटौती गर्दै जानु सरकारकै विकास प्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न खडा गरेको किसान अगुवाहरुको भनाई छ ।

सम्बन्धित समाचार