सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मंसिर ४ को निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष,मर्यादित,शान्तिपूर्ण र भयरहीत वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
उनले सीमित स्रोत साधन तथा न्यून जनशक्तिका बाबजुद निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरुको उच्च सतर्कता र परिचालनका साथै आम मतदाता,राजनीतिक दल र उम्मेदवारहरुको संयमताका कारण यो निर्वाचन शान्तिपूर्ण रुपमा सफलतापूर्वक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी गौतमले जारी गरेको धन्यवाद पत्रमा उल्लेख गरेका छन् । उनले सो पत्रमा नागरिकले सुरक्षित महशुस गरी निर्भिकतापूर्वक स्वतन्त्र वातावरणमा मतदान गर्ने आफ्नो संवैधानिक हक अधिकार प्रयोग तथा संस्थागत गर्ने कार्यमा यो एउटा महत्वपूर्ण उपलब्धी हो भनी उल्लेख गरेका छन् ।
निर्वाचनमा अहोरात्र खटिएका सम्पूर्ण सुरक्षाकर्मी,सबै राष्ट्रसेवक कर्मचारी,मुख्य निर्वाचन अधिकृत,निर्वाचन अधिृकत,राजनैतिक दल,उम्मेदवारहरु,आम नागरिक,मतदाता,नागरिक समाज,संचारकर्मी,निर्वाचन परीवेक्षक अनि निर्वाचनमा श्रोत साधन उपलब्ध गराउने स्थानीय निकाय,शैक्षिक संस्थाहरुसहित सबैलाई महत्वपूर्ण सहयोग,समन्वय, सहकार्य र योगदानको उच्च मूल्यांकन गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले धन्यवाद ज्ञापन गरेका छन् । जिल्लामा यो पटक प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन बिना कुनै विवाद ऐतिहासिक रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
यस्तै, प्रमुख जिल्ला अधिकारी गौतमले निर्वाचनलाई शान्तिपूर्णरुपमा सफलतापूर्वक सम्पन्न गर्न उच्च योगदान पुर्याउने जिल्लास्थित सुरक्षा प्रमुखहरुलाई प्रशंसा पत्रसहित सम्मान गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी,नेपाली सेनाको भैरवी दल गण पाँचकुमारीका गणपति अभिषेक कार्की,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेल,शसस्त्र प्रहरी बल नम्बर १० हे.क्वा.गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ,राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक चन्दन झालाई सम्मान समेत गरेका छन् ।