सांसद पहाडीकाे विषयमा विराेधीहरुले अनावश्यक हल्ला फैलाएका एमाले सिन्धुलीको भनाइ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२१ गते   २३३८ पटक हेरिएको

नेकपा(एमाले) का केन्द्रीय सदस्य तथा सिन्धुली क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य  गणेश कुमार पहाडीमाथि आफ्नै कार्यकर्ताहरुले दुर्व्यबहार गरेकाे भन्ने हल्ला यथार्थ नभएको नेकपा(एमाले) सिन्धुलीले जनाएको छ ।
सांसद पहाडी आफ्नो क्षेत्रका विभिन्न कार्यक्रममा निरन्तर  सहभागी भइरहेका छन्। चुनाव नजिकिएसंगै झनबढी आफ्नाे निर्वाचन क्षेत्रमा खटिएका उनलाई काहीँ कसैले पनि दुर्ववहार नगरेकाे एमाले सिन्धुलीले जनाएको छ । 
साेमबार तीनपाटन गाउँपालिका ९ को आम्बोटेकाे कार्यक्रममा सहभागी हुन पुगेका सांसद पहाडीलाई आफ्नै पार्टीका कार्यकर्ताहरुले गाली गलाैज गर्दै दुर्व्यवहार गरेका भन्दै विभिन्न सञ्चार माध्यममा आएका समाचारमा सत्यता नभएको एमाले सिन्धुलीका एक नेताले बताए । केही सञ्चार माध्यम सांसद पहाडी बोल्ने क्रममा युवा संघका स्थानीय नेताहरूले झुटो आश्वासन बाँडेको, चुनावको बेला मात्र गाउँ आउने गरेको, जनताको पक्षमा काम नगरेको भन्दै विरोध गरेका र दुर्व्यवहार गरेका भन्ने समाचार प्रकाशन भएको प्रति एमाले सिन्धुलीको गंभिर ध्यानाकर्षण भएको उनले कमलामाई खबरलाई बताए  ।
सांसद पहाडी २०७० को संविधानसभा निर्वाचन र २०७४ को संघीय निर्वाचनमा लगातार दुईपटक सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन। उनी शालिन र भद्र स्वाभावका साथै अरुकाे आलाेचना नगर्ने एमालेका नेताकाे रुपमा परिचित रहेका एमाले सिन्धुलीका अर्का नेताले बताए  । सामान्य प्रशासन मन्त्री समेत भई सकेका सांसद पहाडीकाे साे क्षेत्रमा अहिले पनि राम्राे जनमत रहेका कारण विरोधहरुले अनावश्यक हल्ला फैलाएका एमाले सिन्धुलीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech