Close This

टिपरको ठक्करबाट ज्यान गएका साहको शव परिवारले बुझे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१५ गते   २३२ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिका १० मा शुक्रबार टिपरको ठक्करबाट ज्यान गुमाएका युवकको शव परिवारले बुझेका छन् । मृतक मुकेश साहको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारले बुझेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रवीण पोखरेलले जानकारी दिनु भयो ।
शुक्रबार बिहान बरहथवा नगरपालिका १०,किसनपुर टोलमा टिपरको ठक्करबाट मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका ५, लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय साहको मृत्यु भएको थियो । 
बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । साह बरहथवा नगरपालिका ७ मा रहेको जय शक्तिमान पाउरोटी उद्योगका मजदुर थिए ।
दुर्घटनाका विषयमा शनिबार यातायात संघका मानिस र टिपरधनीलाई बोलाएर छलफल गर्ने सहमतीमा मृतकको शव घटना भएको १० घन्टापछि घटनास्थलबाट शुक्रबार साँझ उठाएर पोष्टमार्टम गर्न पठाइएको थियो । तर, शनिबार गाडीधनी र पीडितबीच छलफल भने भएन् ।
एसपी पोखरेलले शनिबार गाडीधनी छलफलमा नआएको बताएका छन् । छलफलमा नआएपनि फोनमा कुराकानी भइरहेको र मृतकको परिवारलाई नियमअनुसारको रकम उपलब्ध गराइने एसपी पोखरेलले बताए ।
दुर्घटनामा संलग्न टिपरका चालक बरहथवा प्रहरीको नियन्त्रण मै रहेका छन् । उनीविरुद्ध आइतबार सर्लाही जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech