सिन्धुलीका ४३ वटा कार्यालयहरु मध्य हाल सम्म पाँच वटा कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका छन् ।२० वटा संघीय,१४ वटा प्रादेशिक कार्यालयहरु र नौ वटा स्थानीय तहहरु गरी ४३ वटा कार्यालयहरु रहेको सिन्धुलीका एउटा संघीय,तीन वटा प्रादेशिक र एउटा स्थानीय तहले मात्रै चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाईका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिए ।
उनका अनुसार सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ बमोजिम सबै सार्वजनिक निकायहरुले प्रत्येक तीन/तीन महिनामा अद्यावधिक गरी स्वतःप्रकाशन गर्नु पर्ने प्रावधान भएपनि सिन्धुलीका ३९ वटा कार्यालयहरुले हाल सम्म पनि स्वतःप्रकाशन नगरेका हुन ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ अनुसार आर्थिक वर्ष सुरु भएको रहेक तीन महिनामा हरेक नागरिकलाई सूचना उपलब्ध गराउने र कार्यालयको गतिविधिहरु सार्वजनिक गर्नु पर्ने भएपनि सिन्धुलीका ३९ वटा कार्यालयहरु त्यसबाट चुकेका जिल्ला अनुगमन ईकाइका सदस्य एवम जिल्ला समन्वय समिति सिन्धुलीका समन्वय अधिकारी तिर्थराज पौडेलले बताए ।
उनका अनुसार जिल्लाका सबै सार्वजनिक निकायहरुलाई पत्राचार गरी समयमै स्वतःप्रकाशन गर्न भनिभएको भएपनि हाल सम्म जिल्ला हुलाक कार्यालय सिन्धुली,पूर्वाधार विकास कार्यालय सिन्धुली,फिक्कल गाउँपालिका सिन्धुली,शहरी विकास तथा भवन कार्यालय सिन्धुली र नापी कार्यालय सिन्धुलीले मात्रै स्वतःप्रकाशन गरेका छन् ।
सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाइले जिल्लाका सबै सरकारी कार्यालयहरु,बैँक तथा वित्तिय संस्थाहरु,बीमा कम्पनीहरुका साथै सरकारी तथा गैर सरकारी संघ/संस्थाहरु,सार्वजनिक संस्थान/शैक्षिक संस्था र उपभोक्ता समितिहरुलाई समेत परिपत्र गरी सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ बमोजिम हरेक तीन तीन महिनामा स्वतःप्रकाशन गर्न भनिएको जिल्ला अनुगमन ईकाईका सदस्य एवम जिल्ला हुलाक कार्यालय सिन्धुलीका हुलाक अधिकृत कुमार थापाले जानकारी दिए ।