सर्लाहीमा केही दिनदेखि अत्यधिक गर्मी बढेपछि सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको छ । विगत केही दिनदेखि लगातार अत्यधिक गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु चार दिनका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका निमित्त प्रमुख अशोक कुमार रौनियारले जानकारी दिए ।
उनका अनुसार तराईमा अत्यधिक गर्मीको कारणले विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको विद्यालयहरुबाट सुचना आएपछि जिल्ला तथा स्थानिय तहहरुले बर्षे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिएका हुन ।
हाल बढ्दो अत्यधिक गर्मीको कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले जेठ २१ गते(आज)देखि २४ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिईएको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले जनाएको छ । तर हाल सञ्चालिन परीक्षाहरु यथावत् रहने छन् ।
जिल्लाका स्थानीय तहहरुले धमाधम बिदा दिन थालेपछि शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले पनि सुचना जारी गरि विदा दिन अनुरोध गरेको हो । सर्लाही सहित मधेश प्रदेशमा केहीदिन यता दिनभर टन्टलापुर घाम लागेर तातो हावा चलिरहेको छ । गर्मी खप्न नसकेर बालबालिका बिरामी नै पर्न थालेका जिल्लाका सामुदायिक विद्यालयहरुको गुनासो छ ।
गएको सोमबारदेखि झनै बढेको गर्मीले स्थानीय निकै मारमा परेका छन् ।पानी परेदेखि केही शितल हुने आशमा रहेका स्थानीय चर्काे घाम र तातो हावाका कारण छटपटीमा परेका छन् । गर्मीले जमिन तथा घर दुवै तातेर राप बढ्दा मानिसलाई घरभित्रै बस्न पनि सकस भएको छ ।