सर्लाहीकी चेली कार्कीको“बाजेको सेकुवा”देखि संसदसम्मको यात्रा

196 Shares

सर्लाहीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नित्तिमा कार्की(भण्डारी) करिब १० वर्षदेखि “बाजेको सेकुवा”सञ्चालन गर्दै आएकी व्यापारी हुन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी कार्कीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व सांसद शम्भुलाल श्रेष्ठलाई ३६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै व्यावसायीक यात्राबाट राजनीतिक यात्रामा आई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भईकी छन्।उनले  सर्लाही क्षेत्र नम्बर १ मा ४४ हजार नौ सय १९ मत ल्याएर जीत निकालेकी हुन ।जीवनमा कहिल्यै चुनाव लड्ने वा सांसद बन्ने सोच नबनाएकी कार्की चुनावको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरी प्रत्यक्षतर्फ टिकट पाएपछि निर्वाचनमा होमिएकी थिइन्।
लामो राजनीतिक अनुभव नभए पनि व्यावसायिक क्षेत्रमा कार्कीको“बाजेको सेकुवा”को फ्रेन्चाइज विस्तारदेखि मसला उद्योग सञ्चालन सम्मको करिब १० वर्षे अनुभव छ ।यसअघि स्थानीय तह निर्वाचनमा नगर प्रमुख पदका लागि प्रस्ताव आए पनि छोरीहरूको पढाइले स्वीकार नगरेको कार्कीले बताईन् ।पटक पटक उनलाई विभिन्न राजनीतिक दलबाट चुनाव लड्न आग्रह गरिएको भएपनि उनी राजनीतिमा नलाग्ने योजना रहेकी थिईन् । झापाका चेतन भण्डारीसंग बिवाह गरेकी कार्कीले पछिल्लो पटक आफु जन्मे हुर्केको सर्लाही र त्यसमा पनि सर्लाही क्षेत्र नम्बर १ बाट चुनाव लड्ने प्रस्ताव आएपछि स्वीकार गरिन र सांसदीय यात्रा तय गरिन् ।
“सर्लाही मेरो लागि नयाँ होइन।तर चुनाव नै उठ्न तयार छु कि छैन भन्ने चाहिँ त्यहीँ गएर बुझेपछि मात्र थाहा पाएँ,मैले त्यहाँ काम गर्नुपर्ने ठाउँ धेरै देखेँ,सांसदका रूपमा तराई निकै चुनौतीपूर्ण छ भन्ने मलाई महसुस भयो।”सांसद कार्कीले बताईन् ।कार्कीले एसएलसीसम्मको अध्ययन सर्लाहीमै पूरा गरेकी हुन्।त्यस आधारमा पनि उनलाई सर्लाहीको यथार्थ के हो भन्ने थाहा थियो।यसपालि चुनावको तयारी क्रममा त्यहाँको वस्तुस्थिति केलाएपछि उनलाई आफ्नो भावी योजना बनाउन सहज भयो।
सर्लाही मात्र नभई सिंगो मधेस शिक्षा र स्वास्थ्य सेवामा निकै पछाडि रहेको उल्लेख गर्दै उनले यी क्षेत्रमा काम गर्ने योजना बनाएको सुनाईन् ।चुनावअघि सर्लाही आउँदा स्थानीय दलित समुदायकी एक महिलासँग भएको भेटले आफूलाई थप प्रेरित गरेको उनको भनाइ छ।ती महिलाले उनलाई कुनै गैर सरकारी संस्थाको कर्मचारी ठानेर बच्चाको उपचारका लागि सहयोग मागेकी थिइन्।वास्तविक अवस्था बुझ्दा उनको बच्चालाई प्यारालाइसिस भएको थाहा भयो।आर्थिक समस्याका कारण ती महिलाले बच्चाको उपचार गर्न नसकेको उनले थाहा पाइन्।
“यस्ता घटना देखेपछि मलाई कम्तिमा मधेसको स्वास्थ्य क्षेत्रमा केही काम गर्न सकिन्छ भन्ने लागेको छ,मेरो केही चिनजान पनि छ।आर्थिक रूपमा सक्षम पनि छु।किन पछि हट्ने भन्ने भयो र यस पटकको चुनाव स्वीकार गरेँ।”उनले भनिन् ।उनका अनुसार सर्लाहीमा सडक पूर्वाधार,सिँचाइ र किसानका उत्पादनको बजारीकरणका समस्या पनि छन्।खासगरी टमाटर उत्पादन धेरै भए पनि बजारसम्म नपुग्ने अवस्था सुधार्नुपर्ने आवश्यकता छ।किसान र बजारबीच बिचौलिया हटाउने,न्यूनतम मूल्य तोक्ने र देशमै पर्याप्त उत्पादन हुने वस्तुको आयातमा कडाइ गर्ने नीति ल्याउन पहल गर्ने योजना रहेको उनले बताईन् ।
उनले मुलुकको प्रमुख समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै तीन तहमा फैलिएको भ्रष्टाचार न्यूनीकरणका लागि नीतिगत सुधार आवश्यक रहेको समेत बताइन्।कर्मचारीतन्त्र सुधार गर्दै सुशासन उन्मुख बनाउने र कर्मचारीलाई तलब,स्वास्थ्य तथा शिक्षाजस्ता सुविधा सुनिश्चित गर्नुपर्ने उनको धारणा छ।
सांसदहरू निर्वाचनको समयमा मात्र जनताको घर दैलोमा पुग्ने गुनासो आफूले धेरै सुनेको उल्लेख गर्दै चुनावको समयमा मात्र जनताको घरदैलोमा नभई अरु समयमा पनि जनतासंगै रहने योजना आफुले बनाएको उनले बताईन् । यता,रास्वपा नामको सुनामी नआएको भए कार्कीको सांसद बन्ने सपना साकार नहुने केही राजनीतिकज्ञहरु बताउँछन् ।त्यसमा पनि कार्की परिवारमा ३३ किलो सुन काण्डको अभियोग जीवितै छ ।

सम्बन्धित समाचार