सर्प पाल्ने बाहनामा भ्रष्टाचार गरेका मन्त्री यादव र अध्यक्ष पन्त सहित ५ जना दाेषी ठहर

503 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित रहेकाे झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष सहित पाँच जनालाई विशेष अदालतले दाेषी ठहर गरेकाे छ ।

रु १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार गरेकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असाेज २१ गते भ्रष्टाचार सम्बन्धि मुद्दा विशेष अदालतमा पेश गरेकाे थियाे।साेही अनुसार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मधेश प्रदेश सरकारका तत्कालिन अर्थ मन्त्री विजय कुमार यादवसहित पाँच जनालाई दोषी ठहर गरेको छ भने दुई जनाले सफाइ पाएका छन् ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती पन्त,महासचिव नवराज भण्डारी,कोषाध्यक्ष नीरज भण्डारी,सदस्य देवेन्द्र राय र आर्थिक मामिला मन्त्री यादवलाई दोषी ठहर गरेकाे हाे।लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्का र मधेश प्रदेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन,प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरेकाे थियो।तर आर्थिक मामिला मन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुन विपरीत प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक रु १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे आराेप थियाे ।

यो मुद्दामा पाँच जनालाई दोषी ठहर गरे पनि सजाय के कति हुने भन्ने निर्धारण हुन बाँकी रहेकाे विशेष अदालत सराेतले जनाएको छ ।उनीहरुलाई सजाय के कति हुने भन्ने निर्धारणका लागि असार २५ गते इजलास बस्ने विशेष अदालतले जनाएको छ ।

सम्बन्धित समाचार