संवेदनसिल क्षेत्र मानिने सर्लाही ४ मा गृह र रक्षा सचिवसहित चारै सुरक्षा निकायका प्रमुखको स्थलगत अवलोकन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१७ गते   ३२८ पटक हेरिएको

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन विशेष अवस्था बुझ्न गृह र रक्षा मन्त्रालय सहित चारै सुरक्षा निकायका प्रमुखहरु सर्लाहीको धनकौलमा आएका छन् । गृहसचिव,रक्षा सचिव र चारवटै सुरक्षा निकायका प्रमुखहरुले देशकै संवेदनसिल मानिएको सर्लाहीको ४ नम्बर क्षेत्रको सुरक्षा स्थितिको अवलोकन गरेका हुन । 
सर्लाही आएका गृहसचिव,रक्षा सचिव र चारवटै सुरक्षा निकायका प्रमुखहरुले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन निष्पक्ष,भयरहित र शान्तिपूर्ण बनाउन निर्देशन दिएर फर्किएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेस्वर गौतमले जानकारी दिए । देशभरका संवेदनसिल निर्वाचन क्षेत्रहरुको सुरक्षा अवस्थाको जानकारी लिँदै हिँड्ने क्रममा बिहीबार नेपाली सेनाको हेलिकप्टर मार्फत जिल्लाको क्षेत्र नम्बर ४ स्थित धनकौल गाउँपालिकामा तयार पारिएको नेपाली सेनाको निर्वाचन बेशमा अवतरण गरेका गृहसचिव विनोदप्रकाश सिंह,रक्षासचिव किरणराज शर्मा,प्रधान सेनापति प्रभुराम शर्मा,प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह,सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले आगामी चुनावलाई शान्तिपूर्ण बनाउन निर्देशन दिएका प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
उनीहरुलाई सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमसहित चारवटै सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरुले जिल्लाको चुनावी तयारी,शान्ति सुरक्षाको अवस्था लगायतबारे जानकारी गराएका हुन । २०७९ बैशाखमा सम्पन्न स्थानिय निकायको निर्वाचनमा निकै अशान्त बनेको धनकौलमा मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै नेपाली सेनालेसुरक्षा बेश राखेको छ । 
स्थानिय निकायको निार्वचन २०७९ बैशाख ३० मा धनकौल गाउँपालिका २ स्थित पशु सेवा केन्द्र मतदान स्थलमा झडप भएपछि प्रहरीले गोली नै चलाउनु परेको थियो । आगामी चुनावमा पनि सोही अवस्था आउन नदिन धनकौलमा नेपाली सेनाको बेश नै राखेर सोही अनुसारको सुरक्षा प्रवन्ध मिलाइएको  प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
निर्वाचन सुरक्षा योजना अन्तर्गत निर्वाचन भरीका लागि अस्थायी सुरक्षा बेश राखिएको लालबन्दी नगरपालिका २ मा रहेको नेपाली सेनाको पाँचकुमारी स्थित भैरवी दल गणका गणपति अभिषेक कार्कीले बताए । उनका अनुसार  गृह तथा रक्षा सचिव र केन्द्रिय सुरक्षा अधिकारीले अति संवेदशनशील मानिने जिल्लाको ४ नं. क्षेत्रको सुरक्षा अवस्थाबारे पनि जिज्ञाशा राख्दै सो क्षेत्रमा भरपर्दो सुरक्षाका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech