सर्लाहीको बागमती नगरपालिका भित्र रहेका विभिन्न स्थानका नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको छ ।नगर भित्रका विभिन्न स्थानहरुमा संचालनमा रहेका नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
नगर स्वास्थ्य शाखाको टोलीले पालिका भित्र संचालनमा रहेको औषधी पसल,अस्पताल, पोली क्लिनिक तथा क्लिनिकहरुको अनुगमन गरेको नगर स्वास्थ्य शाखा प्रमुख पद्म रायमाझीले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिका क्षेत्रमा मात्र ३३ वटा औषधी पसल,एउटा अस्पताल र ३ वटा पोलि क्लिनिक संचालनमा रहेको छन् ।त्यस मध्य आठ वटा औषधी पसलले मात्र औषधी व्यवस्था विभागबाट अनुमती लिएका पाईएको र तिन वटाले स्थानीय तहबाट व्यवसाय संचालन अनुमती लिएका पाइएको नगर स्वास्थ्य शाखा प्रमुख रायमाझीले बताए ।
यस्तै अनुमती नै नलिई २० वटा औषधी पसल संचालन भएका पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
उनीहरुलाई तत्काल सम्बन्धीत निकायमा दर्ताहुन सचेत गराईएको स्वास्थ्य शाखा संयोजक रायमाझीले बताए ।नगर स्वास्थ्य शाखाले स्थानीय सरकार संचालन ऐनले तोकिएको अधिकार अनुसार स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको जनाएको छ ।
अनुगमनका क्रममा औषधी पसल,अस्पताल,पोली क्लिनिक तथा क्लिनिक संचालकहरुलाई १८ भन्दा धेरै प्रश्नको जवाफ सहित फारम भरार्ईएको थियो । अनुगमनको क्रममा नगरका केही औषधी पसलहरु पसल बन्द गरेर भागेका थिए । औषधी विक्री वितरण तथा उपचार प्रकृयालाई व्यवस्थित बनाउन अनुगमन सुरु गरिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।