वेपत्ता नागरिकको खोजी गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको विपद् समिति सिन्धुलीको उद्घोष

106 Shares

जिल्लास्तरिय विपद् व्यवस्थापन समिति सिन्धुलीले उद्धार,राहत र सूचना व्यवस्थापन सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ।रसुवाको भोटेकोशी र त्रिशूली हुँदै नारायणी नदीको तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय,भौतिक तथा आर्थिक क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी प्रभावित क्षेत्रमा राज्यका निकाय,स्थानीय तह,राजनीतिक दल,सामाजिक संस्था र नागरिकस्तरबाट समन्वित पहल आवश्यक रहेको निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी एवम् जिल्लास्तरिय विपद् व्यवस्थापन समिति सिन्धुलीकी संयोजक स्किम श्रेष्ठले जानकारी दिईन् ।
प्रमुख जिल्ला अधिकारी एवम् जिल्लास्तरिय विपद् व्यवस्थापन समिति सिन्धुलीकी संयोजक श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढीमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीपछि सम्पर्क विहीन भएका नागरिकको खोजी तथा उद्धारमा सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सक्रिय हुन समितिले आग्रह गरेको छ।वेपत्ता व्यक्तिको विवरण यथाशीघ्र संकलन गरी उद्धार प्रयासलाई प्रभावकारी बनाउनुपर्ने बैठकले जोड दिएको छ ।
समितिले विपद्सम्बन्धी गलत,भ्रामक तथा अपुष्ट सूचना सम्प्रेषण नगर्न सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।राहत संकलन तथा वितरणका क्रममा नेपाल सरकारका आधिकारिक सूचना र तथ्यमा आधारित भएर मात्र काम गर्नुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताईन् ।बाढीपश्चात् जिल्लाबाट हराइरहेका व्यक्तिको यकिन विवरण सम्बन्धित पालिकाले अद्यावधिक गरी जिल्ला प्रशासन कार्यालयमा पठाउने र प्राप्त आधिकारिक तथ्यांकलाई निरन्तर परिमार्जन गर्दै लैजाने बैठकले जनाएको छ ।
विपद् व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न इच्छुक जिल्लावासीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेका आधिकारिक बैंक खातामा मात्र रकम जम्मा गर्न पनि समितिले आग्रह गरेको छ।व्यक्तिगत वा अनधिकृत माध्यमबाट रकम संकलन गर्दा दुरुपयोग तथा ठगी हुन सक्ने भएकाले सहयोगकर्ताले सरकारी सूचनाको प्रमाणीकरण गर्नुपनि पनि बैठकले सचेत गराएको छ ।
बाढी प्रभावित क्षेत्रमा वस्तुगत सहायता पठाउन चाहने जिल्लास्थित संघ÷संस्था तथा नागरिक समूहले जिल्ला विपद् व्यवस्थापन समिति वा जिल्ला प्रशासन कार्यालयको अनिवार्य स्वीकृति लिनुपर्ने निर्णय गरिएको छ।तत्काल सामाग्री पठाउन हतार नगरी उपलब्ध गराउन सकिने वस्तुको सूची र परिमाण तयारी अवस्थामा राख्न प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सम्बन्धित संस्थाहरुलाई अनुरोध गरिन।उनका अनुसार आवश्यकताको मूल्यांकनपछि मात्र ती सामग्री प्रभावित क्षेत्रमा पठाइनेछ ।
राहत संकलन र वितरणका नाममा हुन सक्ने अनियमितता,ठगी तथा अन्य अवाञ्छित गतिविधि रोक्न जिल्लामा क्रियाशील राजनीतिक दल,स्थानीय तह,सरकारी कार्यालय,गैर–सरकारी संस्था, नागरिक समाज,पत्रकार र आम नागरिकबीच सहकार्य अपरिहार्य रहेको समितिको निर्णयमा उल्लेख छ।त्यस्ता गतिविधि गरेको प्रमाणित भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जिल्लाबाट जम्मा गरिएको रकम प्रभावित समुदायसम्म सही रूपमा पुग्ने वा नपुग्ने विषयमा स्थानीय तहहरूले बैठकमा आशंका व्यक्त गरेपछि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले कोषमा जम्मा भएको रकमको उचित सदुपयोग हुने भन्दै सरकारप्रति विश्वास कायम राख्न आग्रह गरिन।बैठकमा जिल्लाका स्थानीय तह,राजनीतिक दल,सरकारी तथा गैर–सरकारी निकायका प्रमुख र प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार