सर्लाही १ का चौधरी र साहलाई गठबन्धनले पूर्ण साथ नदिए नतिजा अन्यत्र जान सक्ने आशंका

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१३ गते   ३७९ पटक हेरिएको

सर्लाहीको क्षेत्र नम्बर १ मा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारूढ गठबन्धन दल,विपक्षी दल र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी, विपक्षी गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा)का प्रमोद साह र स्वतन्त्र उम्मेदवार  मानबहादुर खड्काबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको हो । 
स्वतन्त्र उम्मेदवारी दिएका खड्का नेकपा(एमाले)ले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका भएपनि उनलाई एमालेले कारबाही गरिसकेको छ । उनलाई पार्टीले कारबाही गरेको भए पनि उनकै  दल एमाले,नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेसका केही नेताले उनलाई साथ दिएका छन् । कांग्रेसबाट टिकट नपाएर रुष्ट बनेका शम्भुलाल श्रेष्ठ र माओवादी केन्द्रबाट सर्लाही १(क)का प्रदेश सभा सदस्यका उम्मेदवार रामचन्द्र कुशवाहा पनि खड्काको पक्षमा देखिएका छन् ।
श्रेष्ठले टिकट लिन लामो समयदेखि कसरत गरेका थिए । तर अन्तिम समयमा लोसपाका चौधरीलाई टिकट दिएपछि उनी रुष्ट बन्नेका नेपाली कांग्रेसका नेताहरुको भनाई छ । २०७४ सालको चुनावमा श्रेष्ठले सर्लाही १ बाटै टिकट पाएका भएपनि जीत निकाल्न सकेका थिएनन् । भने उनको विपक्षी दल जसपाका उम्मेदवार साह निर्वाचित भएका थिए ।
त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका खड्का लालबन्दी नगरपालिका निवर्तमान नगर प्रमुख पनि हुन । एमालेले बैशाख ३० को स्थानिय निकायको निर्वाचनमा खड्कालाई टिकट नदिएर गोविन्द महतलाई टिकट दिएपछि उनले असन्तुष्टि जनाउँदै आएका थिए । सत्ता गठबन्धन दलबाट उम्मेदवार बनेका चौधरी सेवा निवृत्त नेपाल प्रहरी हुन । सर्लाही क्षेत्र नम्बर १ मा ४९ वटा वडा रहेका छन् । स्थानिय निकायको निर्वाचन २०७९ बैशाखमा नेपाली कांग्रेस १९ वटा वडा जितेको छ ।
 त्यसैगरी नेकपा(एमाले)र नेकपा(माओवादी केन्द्र)ले ११÷११ वटा वडामा जितेका छन् भने नेकपा(एकीकृत समाजवादी)पार्टीले तीन,लोकतान्त्रीक समाजवादी पार्टीले दुई, जनता समाजवादी पार्टीले एक र स्वतन्त्रले दुई वटा वडा जितेका छन् । अङ्क गणितीय हिसाबले हेर्दा सत्ता साझेदार दल नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र),नेकपा(एकीकृत समाजवादी)पार्टी र लोकतान्त्रीक समाजवादी पार्टीको गरी ३५ वटा वडा उनीहरूको पक्षमा छ । गणितीय हिसाबले सत्तारूढ गठबन्धन दल बलियो देखिएको छ । 
२०७९ बैशाखको स्थानिय निकायको निर्वाचनको नतिजाअनुसार सत्तारूढ दलबाट उम्मेदवार उठाएको लोसपाले दुई वटा वडामात्र जितेको छ । दलीय भागबन्डाको आधारमा उम्मेदवार बनेका लोसपाका चौधरी र साहलाई गठबन्धनले पूर्ण साथ दिएमात्र उनीहरू बलियो हुने देखिन्छ । कार्यकर्ता गठबन्धनको पक्षमा भए पनि आममतदातालाई चित्त बुझाउन निकै चुनौती रहेकाले गठबन्धनभित्रका मतदाताले राम्रोसँग साथ नदिए दुवै उम्मेदवारलाई चुनाव जित्न कठिन हुने विश्लेषकहरुको विश्लेषण छ । 
सत्तापक्ष र विपक्षी दुवै उम्मेदवार गठबन्धनका साझा उम्मेदवार भएकाले गणितीय हिसाबले दुवैसँग स्वतन्त्र उम्मेदवारको कडा प्रतिस्पर्धा हुने विश्लेषक रजनी कान्त झाको भनाइ छ । दुवै उम्मेदवारलाई गठबन्धनले पूर्ण साथ नदिए नतिजा अन्यत्र जान सक्ने उनले बताए । स्वतन्त्र उम्मेदवारी दिएका खड्कासँग राजनीतिक जनआधार बलियो भएकाले गठबन्धनका दुवै उम्मेदवारसँग कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech