चौधरीलाई स्वागत गरेकै कारण प्रहरी नायव उपरिक्षक भाटको सरुवा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-२० गते   ९०४ पटक हेरिएको

स्वागत गरेकै कारण सरुवा गरिएका डिएसपी भाट

कैलालीको टिकापुरमा रहेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटको काज सरुवा भएको छ । सांसद रेशम चौधरी जेलमुक्त भएपछि स्वागत गर्न पुगेका प्रहरी नायव उपरिक्षक भाटलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल सुरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागका अनुसार इलाका प्रहरी कार्यालय टिकापुर प्रमुखको रुपमा प्रहरी नायव उपरिक्षक तुलसीराम अर्याललाई पठाइएको छ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेको अवस्थामा यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका सांसद चौधरीलाई स्वागत गर्न प्रहरी नायव उपरिक्षक भाट पुगेपछि विवादित बनेका थिए । सांसद चौधरी गाडीबाट ओर्लिने क्रममा हतार हतार गरेर खादा लिएर सार्वजनिक कार्यक्रमै बधाई दिएपछि उनको चर्को आलोचना भएको थियो ।
 प्रहरीका उच्च अधिकारीलाई हत्या गरेको आरोप लागेका चौधरीलाई नै प्रहरी नायव उपरिक्षक भाटले खादासहित स्वागत गर्न पुगेको भिडिओ समेत भाईरल भएको छ । तर प्रहरी नायव उपरिक्षक भाटले सामान्य शिष्टाचार र औपचारिकता मात्रै निभाएको भिडियोलाई अन्यथा प्रचार गरी बदनाम गराउन खोजिएको बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech